ओली-लेखकको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हेर्दाहेर्दैमा


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो । ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

साथै,  लेखकलाई सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । नेता लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेकी थिइन्।