दीपक भट्टको उदय र पतनः हतियार आपूर्तिबाट जलविद्युत् एजेन्ट हुँदै रेगुलेटरी क्याप्चरसम्म

वित्तीय क्षेत्रमा पकड जमाउने तिव्र महत्वाकांक्षाले भट्ट समूहले रेगुलेटरी क्याप्चरको अभ्यास गर्न खोजेका थिए


काठमाडौं – नेपालको वित्तीय र बीमा क्षेत्रमा पछिल्लो समय देखिएको शक्ति, पहुँच, लाइसेन्स र नियामक निकायसँगको सम्बन्धको जालो केलाउने हो भने एउटा नाम बारम्बार आउँछ, दीपक भट्ट । सुरक्षा निकायलाई हतियार आपूर्ति गर्ने ठेक्काबाट उदाएका इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टले केही वर्षमै जलविद्युत्, बीमा, पुनर्बीमा, पुँजी बजार र सम्भावित डिजिटल बैंकसम्म फैलिएको व्यावसायिक नेटवर्क निर्माण गरे । तर, नियामक निकायमाथि प्रभाव जमाएर वित्तीय क्षेत्र कब्जा गर्ने महत्त्वाकाङ्क्षा नै अन्ततः उनको पतनको कारण बन्न पुगेको देखिन्छ ।

दीपक भट्टको व्यावसायिक उदय सुरक्षा निकायलाई हतियार आपूर्ति गर्ने ठेक्काबाट सुरु भएको देखिन्छ । त्यहीँबाट उनले राजनीतिक वृत्तमा प्रवेश पाए। नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धले उनलाई राज्य संयन्त्र र ठूला परियोजनामा पहुँच दिलायो ।

जलविद्युत् क्षेत्रमा उनले आफूलाई लगानीकर्ता भन्दा बढी ‘एजेन्ट’ वा ‘डिल मेकर’का रूपमा स्थापित गरे। पछि उनलाई सार्वजनिक वृत्तमा बिचौलियाको उपमा दिन थालियो । जलविद्युत् परियोजनामा विदेशी लगानी, बीमा, पुनर्बीमा र वित्तीय क्षेत्रका कम्पनीको लाइसेन्स मिलाउने काममार्फत उनले व्यापारिक नेटवर्क विस्तार गरे। तर जलविद्युत् क्षेत्रमा सफल भए पनि वित्तीय क्षेत्रमा आफ्नो समूह नभएको महसुस भएपछि उनले अर्को रणनीति बनाए, वित्तीय क्षेत्रमै प्रवेश गर्ने ।

पुनर्बीमा कम्पनीबाट सुरु भयो नियामकीय कब्जाको खेल

नेपालमा पुनर्बीमा व्यवसाय विस्तारको सम्भावना देखेपछि भट्टले हिमालयन रिइन्स्योरेन्सको अवधारणा अघि सारे। शंकर समूह, गोल्छा समूह लगायतका ठूला व्यापारिक घरानालाई एक ठाउँमा ल्याएर उनले कम्पनी स्थापना गराए । यही चरणबाट नियामक निकायलाई प्रभावमा पार्ने प्रयास सुरु भएको थियो ।

नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाल नियुक्त भएपछि पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रिया अगाडि बढ्यो । सिलवाल २०७७ माघमा अध्यक्ष नियुक्त भएका थिए। उनी नियुक्त भएको चार महिनाभित्रै पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान भयो ।

आवेदन दिने चार कम्पनीमध्ये अन्तिम समयमा प्रस्ताव पेश गरेको हिमालयन रिइन्स्योरेन्सले लाइसेन्स पायो। अन्य कम्पनी लामो समयदेखि तयारीमा रहे पनि लाइसेन्स नपाउनु र अन्तिममा आवेदन दिएको कम्पनीले छोटो समयमा लाइसेन्स पाउनु विवादको विषय बन्यो। लाइसेन्स वितरणमा प्रभाव र चलखेल भएको आरोप त्यति बेला व्यापक रूपमा उठेको थियो ।

पुनर्बीमा कम्पनीपछि बीमा क्षेत्र विस्तार गर्ने अर्को चरण थियो, लघुबीमा। बीमा प्राधिकरणले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्दा पनि शंकर समूह र दीपक भट्टसँग सम्बन्धित कम्पनीलाई लक्षित गरिएको थियो । यसले बीमा क्षेत्रमा निश्चित व्यापारिक समूहको प्रभाव बढ्दै गएको चर्चा सुरु भयो । अनुमति दिइएका कम्पनीमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्स छन्।

यिनका लगानीकर्ताको विवरण हेर्दा पछिल्लो समय वित्तीय क्षेत्रका ठूला लाइसेन्स हत्याइरहेको व्यावसायिक घराना शंकर समूह तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट तथा उनीहरू निकट व्यवसायीले मात्र लघुबीमाको अनुमति पाएको खुल्छ। शंकर समूह र इन्फिनिटीले साथै लिएर हिंडिरहेका शेखर गोल्छा, पशुपति मुरारका, राजेश अग्रवाल, कुमुद दुगड, मोतीलाल दुगड, लक्की समूह सहितका व्यवसायी बीमाका यी व्यवसायमा पनि साझेदार छन्। बीमा, पुनर्बीमा र लघुबीमा गरी तीनै क्षेत्रमा एउटै नेटवर्क विस्तार भएपछि भट्ट समूहले बीमा क्षेत्रमै प्रभुत्व जमाउने रणनीति बनाएको विश्लेषण हुन थाल्यो।

सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनीलाई कमजोर बनाउँदै उक्त कम्पनीमाथि प्रभाव जमाउने प्रयास पनि भएको थियो। नेपाल रिको पुँजी वृद्धिका लागि हकप्रद निष्काशनको निर्णय गराउन अर्थ मन्त्रालयका उच्च अधिकारीसम्मलाई प्रभावमा पारिएको चर्चा बजारमा चल्यो । हिल्टन होटेल आगजनी घटनाको पुनर्बीमा दायित्व हिमालयन रिइन्स्योरेन्सबाट हटाएर नेपाल रिमा सार्नेसम्मका चलखेल भए । यसबारे बीमा प्राधिकरणले अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो ।

बीमा क्षेत्रपछि भट्ट समूहको ध्यान पुँजी बजारतर्फ मोडिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डमा आफू अनुकूल नेतृत्व ल्याउन भट्टले राजनीतिक दबाब दिएका थिए । अन्ततः सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएपछि दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने योजना रहेको थियो । हिमालयन स्टक एक्सचेन्ज नामक कम्पनीलाई दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स दिने योजना यही रणनीतिको हिस्सा मानिएको थियो ।

यससँगै डिजिटल बैंक, एसेट म्यानेजमेन्ट कम्पनी, नयाँ वित्तीय संस्थाहरूको लाइसेन्स लिने दीर्घकालीन योजना समेत बनाइएको चर्चा थियो । अर्थात् बीमा, पुनर्बीमा, पुँजी बजार, बैंकिङ्ग गरि सम्पूर्ण वित्तीय प्रणालीमै प्रभाव जमाउने रणनीति अघि बढिरहेको थियो ।

राजनीतिक परिवर्तनसँगै भत्कियो नेटवर्क

राजनीतिक समीकरण बदलिँदा भट्ट समूहको संरचना पनि हल्लियो। भदौ २३–२४ को जनआन्दोलनपछि पुराना राजनीतिक शक्ति सत्ताबाट बाहिरिए। सरकार परिवर्तनसँगै नियामक निकाय, मन्त्रालय र बोर्डहरूमा रहेका शक्ति सन्तुलन पनि बदलियो। परिणामस्वरूप भट्टको राजनीतिक र प्रशासनिक नेटवर्क एकाएक कमजोर बन्यो।

राजनीतिक संरक्षण कमजोर भएपछि नियामक निर्णय, लाइसेन्स प्रक्रिया र वित्तीय क्षेत्रमा उनको प्रभाव पनि घट्दै गयो। यही अवस्थाबाट उनको व्यवसायिक र नियामकीय प्रभावको संरचना क्रमशः भत्किएको देखिन्छ ।

दीपक भट्टको यात्रा सामान्य ठेक्कादारबाट जलविद्युत् एजेन्ट, त्यसपछि बीमा, पुनर्बीमा क्षेत्र हुँदै वित्तीय प्रणालीमै प्रभाव जमाउने प्रयाससम्म पुगेको थियो । तर नियामक निकायलाई प्रभावमा पारेर वित्तीय क्षेत्र कब्जा गर्ने महत्त्वाकाङ्क्षा राजनीतिक शक्ति परिवर्तनसँगै उल्टै जोखिममा परिणत भयो । अहिले भट्ट र उनका व्यावसायिक साझेदारहरू सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सीआइबीको हिरासतमा छन । उनको रेगुलेटरी क्याप्चरको महत्त्वाकाङ्क्षामा सहयोगी भूमिका खेल्ने पात्रहरू अनुसन्धानको प्रक्रियामा लहरो तान्दा पहरो भत्किने सम्भावना बढेर गएको छ ।