अर्थमन्त्रालयको बागडोर सम्हालेको एक सातामा अर्थमन्त्री डा. वाग्लेले के गरे ?


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रालयको बागडोर सम्हालेको एक साता पूरा भएको छ । वाग्लेले एक साता पूरा गरेसँगै आफुले सम्पादन गरेका काम सार्वजनिक गरेका हुन् ।

वाग्लेले अर्थमन्त्रालयको बागडोर सम्हालेको एक सातामा नै महत्वपूर्ण निर्णयहरु गरेका छन् । अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गर्दा र पदभार सम्हालिसकेपछि महत्वपूर्ण निर्णय गरेका हुन् । वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने जस्ता निर्णय पनि गरेका छन् । यस्तै, उनले मेरिटका आधारमा पदस्थापन तथा राजश्व चुहावट रोक्न निर्देशन समेत दिइसकेका छन् ।

यी हुन् अर्थमन्त्री वाग्लेले एक सातामा गरेको काम

पदबहाली र तीन निर्णय

१.चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने,
२.उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने,
३.निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने ।

मेरिटका आधारमा पदस्थापन

अर्थमन्त्री डा.वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर ३० जना उपसचिवको मेरिटमा आधारित पदस्थापन गर्नुभयो । नियमित बढुवा भएका ३० जना राजश्व समूहका उपसचिवको योग्यतामा आधारित पदस्थापन गरिएको थियो ।

मन्त्रालयको आन्तरिक ब्रिफिङ

अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालय अन्तर्गतका महत्वपूर्ण महाशाखा तथा कार्यालयहरूको ब्रिफिङ लिएइरहेका छन् । चैत्र १३ गते शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ नियमित छलफल र अन्तरक्रियामा जुटेका हुन् । उनले मन्त्रालय अन्तर्गतका कार्यालयको संरचना र कार्यप्रगति अवस्था, बजेट कार्यन्वयन, राजश्व सङ्कलन, राजश्व चुहावट नियन्त्रणका उपाय लगायतका विषयमा विस्तृतमा जानकारी लिइरहेका छन् ।

डा.वाग्लेले ६ वटा महाशाखा, २ वटा विभाग, २ वटा कार्यालय र एक प्राधिकरणको ब्रिफिङ लिइसकेका छन् । बजेट महाशाखा, अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा, राजश्व व्यवस्थापन महाशाखा, वित्तिय सङ्घीयता समन्वय महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, वित्तिय क्षेत्र महाशाखा, नेपाल बीमा प्राधिकरण, महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग र आन्तरिक राजश्व विभागको ब्रिफिङ लिएका हुन् ।

राजश्व चुहावट रोक्न निर्देशन

यस्तै, उनले उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकाय र राजश्व प्रशासनलाई आग्रह पनि गरे । सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजश्व सङ्कलन गर्न र राजश्वको चालु आवको लक्ष्य पुरा गर्न मात्रै नभई राजश्व त्यो भन्दा बढी सङ्कलन गर्न निर्देशन दिए ।

निजी क्षेत्रलाई सरकारको प्राथमिकता र नीतिबारे जानकारी

यसअघि उनले निजी क्षेत्रका तीन वटा प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गरेका थिए । सो अन्तरक्रियामा नयाँ राजनीतिक परिवेश, नयाँ सरकार गठनको जनादेशबारे निजी क्षेत्रलाई जानकारी गराएका थिए । सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडी बढ्ने भन्दै अर्थमन्त्री वाग्लेले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न र निश्चिन्त भएर लगानी बढाएर देशमा रोजगारी सृजना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

बजेट तयारी सुरु

अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३⁄८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका छन् । राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेको हो । यस बीचमा मन्त्रिस्तरीय तीन दर्जन बढी निर्णयहरु उनले गरेका छन् ।

राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट लक्षित राजश्व परामर्श सम्बन्धि अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुन थालेका छन् । उनी शुक्रबार राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा देशकै ठूलो भन्सार कार्यालय अनुगमन तथा निरिक्षणका लागि वीरगन्ज पुगेका थिए ।

सो क्रममा वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आईसीपी) को निरिक्षण, आन्तरिक राजश्व कार्यालय पर्सा र बाराको निरीक्षण गरेर अर्थमन्त्री वाग्ले वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटलाई सुझाव दिन आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी भएका थिए ।