१७ करोड ७९ लाख बराबरको क्रिप्टो कारोबार गर्ने एक जना चिनियाँ नागरिक पक्राउ

प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गर्थेँ


काठमाडौं – १७ करोड ७९ लाख बराबरको क्रिप्टो करेन्सीको कारोबार गर्ने एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिन घर भई काठमाडौंको महानगरपालिका–२६ ठमेल बस्ने  झु यी फेंग रहेका छन्। 

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो। उनले विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। 

साथै, उनको त्यो ठगीको गरेको रकमलाई क्रिप्टो करेन्सीमा साटी कारोबार गर्ने गरेका थिए। उनले नेपाली १७ करोड ७९ लाख ७० हजार बराबरको अभौतिक मुद्रा युएसडीटी क्रिप्टो को कारोबार गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनको साथबाट क्रिप्टो कारोबारमा प्रयोग भएको थान ३ मोबाइल र अन्तर्राष्ट्रिय एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू बरामद गरेको छ। उनलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।