धादिङका डीपी अर्याल बने सभामुख


काठमाडौं – डोल प्रसाद (डीपी) अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि उनको मात्रै आवेदन परेसँगै उनी सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रकाशित प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन कार्यक्रमअन्तर्गत आज ११ बजेदेखि २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिने समयावधि तोकिए‌कोमा निर्धारित मिति र समय भित्र डोल प्रसाद अर्यालको मात्रै आवेदन परेको संघीय संसद सचिवालयले जनाएको छ । उनी सभामुख बनेको घोषणा भने भइसकेको छैन । तर, एकल उम्मेद्वारीको आधारमा उनी नै सभामुख बन्ने निश्चित भएकाे हाे ।

धादिङका अर्याल देशको चौथो सर्वोच्च पदमा पुगेका हुन् । प्रतिपक्षी दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख पदमा पुगेका हुन् ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक छ । सत्तापक्षको बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएका हुन् । प्रतिनिधि सभामा रास्वपाको १८२ सांसद छन् । यस्तै, नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का ५ सांसद् छन् ।