एनसेलका सीईओ फोली भन्छन्,‘नेपालको समृद्धिमा दूरसञ्चार क्षेत्र र वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण’


काठमाडौं – एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याट्रिक फोलीले नेपालको विकास र नेपाली जनताका आकाङ्क्षाहरू पूरा गर्न दूरसञ्चार क्षेत्र र वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन्।

नेपाल बेलायत उद्योग वाणिज्य संघले बिहीबार आयोजना गरेको ‘नेपालको बदलिँदो प्रत्यक्ष वैदेशिक लगानी: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै फोलीले सरकारको १०० बुँदे कार्ययोजना सफल पार्न बलियो सूचना तथा सञ्चार प्रविधिको आवश्यकता रहेको र त्यसमा एनसेल सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

डोल्मा इम्प्याक्ट फन्ड र युनिलिभर नेपालका प्रतिनिधिहरूसमेत सहभागी उक्त प्यानल डिस्कसन कार्यक्रममा फोलीले भने, ‘स्वास्थ्य, शिक्षा होस् वा लगानी मैत्री वातावरण निर्माण, एनसेल सरकारको भिजनलाई साथ दिन तयार छ। हामीसँग आवश्यक पुँजी परिचालन गर्ने क्षमता छ र हामी समाजको लागि अर्थपूर्ण भूमिका खेल्न चाहन्छौँ। हामी केवल काम गर्ने उचित वातावरणको अपेक्षा गर्दछौँ।’

फोलीले दूरसञ्चार उद्योगको सहयोग बिना सरकारको डिजिटल र आर्थिक लक्ष्यहरू प्राप्त गर्न कठिन हुने बताउँदै एनसेलले नेपालको समृद्धिका लागि आफ्नो तर्फबाट पूर्ण प्रतिबद्धता जनाएको उल्लेख गरे।