राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न अर्थमन्त्री वाग्लेको निर्देशन


काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमार्फत राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएका छन्।

अर्थमन्त्री वाग्लेले प्रशासनले ठूला काम तथा घटनाहरू सफलतापूर्वक व्यवस्थापन गरे पनि नियमित प्रकृतिका काममा अपेक्षित सफलता हासिल गर्न नसक्नुको प्रमुख कारण ‘मिसन मोडल’मा काम नगर्ने प्रवृत्ति रहेको उल्लेख गरे।

उनले अब नियमित कार्य ‘टास्क मोडल’मा सञ्चालन गर्न निर्देशन दिँदै राजस्व वृद्धि गर्न करको दर घटाउने र दायरा विस्तार गर्ने नीति अवलम्बन गरिने स्पष्ट पारे।

त्यसैगरी, कर परिपालनाको वातावरण निर्माण गर्दै तस्करीमा संलग्न व्यक्ति, समूह वा वर्गलाई राज्यका नीतिमार्फत स्वरोजगार तथा उद्यमशीलतातर्फ आकर्षित गर्ने वातावरण तयार गरिने उनले बताए।