अमेरिकाले नेपाल यात्रा चेतावनीको स्तर घटायो: ‘नेपाल घुम्न आउन सुरक्षित छ, तर विपत्तिबाट सावधान रहनु’


काठमाडौं – अमेरिकी विदेश मन्त्रालयले नेपालका लागि जारी गरेको यात्रा चेतावनीको स्तर घटाउँदै ‘लेभल–२’मा झारेको छ। यसअघि उच्च सतर्कता अपनाउन भनिएकोमा अब सावधानी अपनाएर यात्रा गर्न सकिने बताएको छ। अमेरिकाले २०२६ मार्च ३१ मा अद्यावधिक गरेको यात्रा सूचनामा नेपालमा सुरक्षा अवस्था अहिले स्थिर रहेको उल्लेख गरिएको छ।

२०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू रोकिएको भए पनि शहरहरूमा स्थानीय प्रदर्शन र आक्रोशका घटना अझै हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ। सूचनामा प्रदर्शनहरू बिना पूर्व सूचना सुरु हुन सक्ने र छिट्टै हिंसात्मक बन्न सक्ने उल्लेख गर्दै ठुलो भिडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ।

स्वास्थ्य सेवाबारे चेतावनी

अमेरिकी विदेश मन्त्रालयले नेपालमा स्वास्थ्य सेवाको क्षमता सीमित रहेको पनि जनाएको छ। काठमाडौंका अस्पताल अन्य स्थानभन्दा राम्रो भए पनि भिडभाड, उपकरण वा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै रकम तिर्नुपर्ने अवस्था हुन सक्ने उल्लेख गरिएको छ। विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने पनि सूचनामा उल्लेख छ। त्यसैले नेपाल यात्रा गर्दा आवश्यक औषधि साथमा ल्याउन, स्वास्थ्य बीमा गर्न र गम्भीर उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्नेबारे तयारी गर्न सुझाव दिइएको छ।

भूकम्प, बाढी र पहिरोको जोखिम

नेपालमा भूकम्प, बाढी र पहिरो नियमित रूपमा हुने भएकाले प्राकृतिक विपत्तिबाट पनि सतर्क रहन भनिएको छ। विशेष गरी मनसुन (जुन–सेप्टेम्बर) समयमा भारी वर्षाका कारण अचानक बाढी र पहिरो आउन सक्ने, सडक अवरुद्ध हुन सक्ने र उद्धारमा समस्या हुन सक्ने चेतावनी दिइएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाल यात्रा गर्ने अमेरिकी नागरिकलाई दूतावाससँग सम्पर्कमा रहने, स्थानीय समाचार हेर्ने, यात्रा बीमा गर्ने र आपत्कालीन अवस्थाका लागि तयारी अवस्थामा रहन पनि सुझाव दिएको छ।