प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न


काठमाडौं – नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११ औँ समूहको प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधवार सम्पन्न भएको छ। 

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरे। सो अवसरमा उनले नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिसरमा नवनिर्मित ‘आर्म ब्याज’ नमुना स्तम्भको अनावरण समेत गरे। 

प्रहरी महानिरीक्षक कार्कीले सम्बोधनको क्रममा शारीरिक र मानसिक रूपमा कठिन तर गर्व गर्न लायक यस तालिमलाई सफलतापूर्वक सम्पन्न गरेकामा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। तालिमको दौरानमा आर्जन गरेका ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोपको उद्धार, आंतकवाद नियन्त्रण र विशिष्ट व्यक्तिको सुरक्षा लगायतमा कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे।

तालिमको अवधिमा प्राप्त सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्र नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उल्लेख गर्दै दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरूलाई आगामी दिनमा अनुशासित जीवनलाई अवलम्बन गर्न समेत उनले निर्देशन दिए।      

महानिरीक्षक कार्कीले कार्यक्षेत्रमा जनअपेक्षा अनुरूपको कानुन सम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सक्दा मात्र नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताउँदै दीक्षित प्रशिक्षार्थीहरूले कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबबाट विचलित नभई कानुनको मार्गमा अडिग रहँदै उच्च व्यावसायिकता, नैतिकता एवम् इमानदारितालाई आत्मसात् गरी मुलुक र जनताको सेवामा समर्पित हुन निर्देशन दिए।