म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ। ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन्।
पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेका दर्मिजाको तातोपानी कुण्ड, जागा झरना, बौसा हान्ने डाडा र नांगेदेवी थानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउन पहल थालिएको दर्मिजाका अगुवा बिप्रसाद पुनले जानकारी दिए। ‘हिमश्रृङखला, सूर्योदय, पहाडी भूगोलको मनमोहक दृष्यावलोकन गर्न सकिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र प्रचारप्रसारको कामीले ओझेलमा परेको छ,’ उनले भने ‘समुदाय स्तरबाट पूर्वाधार निर्माण र प्रवरद्धनको काम थालिएको दर्मिजा भ्यू पोइन्टको विकासका लागि गाउँपालिका, प्रदेश र संघीय सरकारबाट बजेट र योजना भित्र्याउन पहल भएको छ।’
दर्मिीजा गाउँदेखि दुई घण्टाको उकालो बाटोको पैदलयात्रा गरेपछि पुगिने दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ बाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमशृङखलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाईमा पहाडको टाकुरामा अवस्थित दर्मीजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ वरपर घना जंगल छ। बसन्त ऋतुमा वनपाखामा लालीगुराँस फुल्दा वातावरण उमंग र रमणीय हुने स्थानीयबासी शिव पाइजाले अनुभव सुनाए। म्याग्दी, बागलुङ, पर्वत जिल्लाका ग्रामिण वस्तिहरु अवलोकन गर्न पाइने यो ठाउँ बस्ति देखि टाढा र एकान्तमा अवस्थित छ।
सहरबजारको कोलाहल, व्यस्त दैनिकी र प्रदुषणबाट टाढा भएर प्रकृतिसँग रमाउन चाहनेहरुका लागि दर्मिजा ‘दर्मिजा भ्यू प्वाइन्ट’ उपयुक्त गन्तब्य बन्न सक्छ। यहाँ स्थानीयबासीहरुले बैशाख महिनामा नांगेदेवीको पुजा गर्दछन्। नांगेदेवीको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र गाउँमा अनिष्ट नहुने जनविश्वास छ। नांगेथान नजिकै दगनामका नक्कलबहादुर गर्बुजा र दर्मिजाका इन्दरबहादुर र नरबहादुर मगरले व्यक्तिगत लगानीमा आश्रयस्थल निर्माण गर्नुभएको छ । सोही स्थानका हिराबहादुर पुनका सहयोगमा खानेपानी ब्यवस्था गरिएको छ। हाल बेलायतमा रहेका पुनको सहयोगमा सार्वजनिक शौचालय पनि निर्माणको तयारी भएको छ।
रघुगङ्गा गाउँपालिकाको चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् दर्मिजादेखि जागा झरना जोड्ने पदमार्ग निर्माण भएको छ। जागा झरना हुदै दर्मिजा भ्यू पोइन्ट जान सकिन्छ। पदमार्ग निर्माणका लागि गाउँपालिको चालु आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख रुपैँया बजेट बिनियोजन गरेको थियो। दर्मिजा गाउँमा घरवासको सुविधा छ। दर्मिजाको फेदिमा प्राकृतिक तातोपानीको कुण्ड रहेको छ।



About Us
प्रतिक्रिया