वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो


वीरगन्ज – वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन्। गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात छ अर्ब ४२ करोड रुपैयाँले बढी हो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ। भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको छ। जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाख रुपैयाँका छ सय नौवटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ। ती सवारीसाधन आयात हुँदा दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। जबकि गत आवको सात महिनामा भने एक अर्ब ५० करोड रूपैयाँका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा तीन अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।