सोपान फर्मास्यूटिकल्सको आईपीओमा वैशाख २ गतेदेखि आवेदन दिन सकिने


काठमाडौं – सोपान फर्मास्यूटिकल्स लिमिटेडले वैशाख २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब दोसो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्तालेले वैशाख ६ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि वैदेशिक १६ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।