काठमाडौं – व्यवसायी दीपक भट्टमाथि छानबिनको सूचना सार्वजनिक भएपछि बीमा कम्पनीसम्बद्ध शेयरमा ठूलो हलचल देखिएको छ। लगानीकर्तामा डर (प्यानिक) देखिँदा हिमालयन रि र नेपाल रिको शेयर मूल्य घटेको छ भने कारोबार भने अस्वाभाविक रूपमा बढेको हो।
छानबिनको सूचना बाहिरिएपछि बजारमा हलचल
इन्फिनिटी होल्डिङ्सका एकल सञ्चालक व्यवसायी दीपक भट्टमाथि छानबिन हुने सम्बन्धी पत्र सार्वजनिक भएपछि दोस्रो बजारमा बीमा क्षेत्रका शेयरमा ठूलो उतारचढाव देखिएको हो। विशेषगरी भट्ट र उनको समूहको लगानी रहेको हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ भने कारोबार रकम भने निकै उच्च भएको छ।
मध्यान्ह ११:५० बजेसम्ममा नेपाल रिइन्स्योरेन्सको शेयर मूल्य ७.०२ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ९६ रुपैयाँ २ पैसामा झरेको छ। हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य पनि ३.२३ प्रतिशतले घटेको छ। तर, मूल्य घटे पनि दुवै कम्पनीको शेयरकिनबेच भने अत्यधिक भएको छ।
हिमालयन रिको २२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल रिको १६ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसले लगानीकर्ताले डरका कारण शेयर बेच्न थालेको संकेत गरेको छ। सम्पत्ति शुद्धीकरण विभागले नेपाल बीमा प्राधिकरणलाई पत्र पठाउँदै व्यवसायी दीपक भट्टसँग सम्बन्धित लगानी र रकम प्रयोगको विषयमा छानबिन गर्न निर्देशन दिएको पत्र बाहिरिएपछि यो विषय सार्वजनिक भएको हो।
पत्रअनुसार, हिमालयन रिइन्स्योरेन्सका आधारभूत शेयरधनी दीपक भट्टले विभिन्न कम्पनी र फन्डमार्फत ठूलो रकम प्रयोग गरेर दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स लगायतका कम्पनीको शेयरखरिद गरेको देखिएको उल्लेख छ। पत्रमा उल्लेख भएअनुसार हिमालयन रिइन्स्योरेन्समा करिब २ अर्ब ७३ करोड रुपैयाँ, हिमालयन सेक्युरिटिज ब्रोकरमा करिब २२ करोड रुपैयाँ, नेपाल लाइफ इन्सुरेन्सको सहायक कम्पनीमा करिब ३७ करोड रुपैयाँ, एचएलआइ लार्ज क्याप फन्डमा करिब २५ करोड रुपैयाँ र नेपाल माइक्रो इन्सुरेन्समा करिब १६ करोड रुपैयाँ पैसा गएको देखिन्छ ।
यी विभिन्न स्रोतबाट जम्मा करिब ३ अर्ब ८१ करोड रुपैयाँ प्रयोग गरी शेयरखरिद गरिएको देखिएकाले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै आर्थिक अनियमितता वा रकम दुरुपयोग भएको हो कि होइन भन्ने विषयमा छानबिन गर्न बीमा प्राधिकरणलाई निर्देशन दिइएको छ। गत २८ फागुनमा सम्पत्ति शुद्धीकरण विभागले ७ दिनभित्र छानबिन गरी रायसहितको प्रतिवेदन पठाउन बीमा प्राधिकरणलाई भनेको थियो।
अनियमितता प्रमाणित भयो भने कम्पनी र व्यवस्थापनमा समस्या आउन सक्छ
ठूला लगानीकर्ताले शेयरबेच्न थाले मूल्य अझै घट्न सक्ने देखिन्छ। यही कारण धेरै लगानीकर्ताले शेयर बेच्न थालेका कारण मूल्य घटेको तर कारोबार रकम भने बढेको देखिएको हो।



About Us
प्रतिक्रिया