काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन बुझेका छन्। उनले वित्तीय क्षेत्र समन्वय महाशाखाबाट उक्त प्रतिवेदन बुझेका हुन्। उक्त प्रतिवेदनमा निवर्तमान अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असन्तुष्टि जनाएका थिए। टालटुले पारामा प्रतिवेदन आएको भन्दै खनाल असन्तुष्ट थिए।
महाशाखाका एक अधिकारीले भने,’हामीले अर्थमन्त्रीज्यूलाई ब्रिफिङ गर्दै प्रतिवेदन बुझाएका छौँ। उहाँले अध्ययन गरेर निर्णय लिने बताउनुभएको छ।’ खनालको प्रस्तावमा मन्त्रिपरिषद्ले नेपाल लेखामान बोर्डका पूर्व अध्यक्ष प्रकाशजंग थापाको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो।
सोही समितिको प्रतिवेदन वाग्लेले बुझेका हुन्। समितिले नेप्सेको पुँजी बढाउने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, बैंक, बीमा भित्र्याउने, सरकारी स्वामित्व काम गर्न, बोनस शेयर जारी गर्ने, हकप्रद शेयर जारी गर्ने, सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने योजना पेस गरेको थियो।
हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ९.५० प्रतिशत, कर्मचारी सञ्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ११.२३, लक्ष्मी र प्रभु बैंकको ५ ५ प्रतिशत र अन्य (ब्रोकरहरू) को ०.६३ प्रतिशत शेयर छ। यदि रणनीतिक साझेदार नभित्र्याउने हो भने हकप्रद, बोनस शेयर जारी वा थप शेयर (एफपिओ) जारी गरेर पुँजी वृद्धि गर्ने विकल्प हुने उल्लेख छ। तर, हालकै स्वरूपमा नेप्सेमा सुधार हुन नसकिने भन्दै सञ्चालक समितिको संरचना परिवर्तन र रणनीतिक साझेदार भित्र्याउने विकल्पमा जानुपर्ने उल्लेख गरेको थियो।



About Us
प्रतिक्रिया