काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ करोड ६५ लाख हिनामिना गर्ने एक बैंककै एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकको कपिलवस्तुकाे तौलिहवा शाखाका कर्मचारी रिशभ कार्की रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिए। त्यस्तै, कार्कीले विभिन्न समयमा बैंकको आन्तरिक प्रणालीभित्र प्रवेश गरेर केही ग्राहकको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कार्कीले आफ्नै प्रयोगमा रहेको मोबाइल नम्बर ती खातामा जोडेर मोबाइल बैंकिङ्ग तथा कनेक्ट आइपिएस मार्फत रकम स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। उनले बैंकका केही ग्राहकहरूका खाताबाट १ करोड ६५ लाख रकम अनधिकृत रूपमा ट्रान्सफर गरी खाताको रकम हिनामिना गरेको देखिएको प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले आफ्नो बैंकमा रहेका बैंक खाता तथा मोबाइल बैंकिङ्गमा प्रयोग भएको मोबाइल नम्बरहरू यकिन गरी यस्ता किसिमबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन आग्रह गरेको छ।



About Us
प्रतिक्रिया