मन्त्रिपरिषद् बैठक बस्दै, डेपुटी गभर्नर नियुक्ति गर्ला ?


काठमाडौं – आज नियमित मन्त्रिपरिषद्को बैठकले पनि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त नगर्ने भएको छ। स्रोतका अनुसार आज अपराह्न ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकमा डेपुटी गभर्नर नियुक्ति सम्बन्धी प्रस्ताव छैन।

फागुन २५ देखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद रिक्त छ। तत्कालीन डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र डा. निलम ढुंगाना अवकाशमा गएपछि डेपुटी गभर्नर पद रिक्त बनेको हो। त्यसयता तत्कालीन सरकारले नियुक्तका लागि प्रक्रिया अघि बढाए पनि वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सचिवलाई फोन गर्दै नियुक्ति अघि नबढाउन भनेका थिए।

जसकारण, रोकिएको नियुक्ति प्रक्रिया अहिलेसम्म अघि बढेको छैन। अर्थमन्त्री डा. वाग्लेले हिजो आइतबार गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेपछि आजको मन्त्रीपरिषद् बैठकमा नियुक्तिको प्रस्ताव जाने अड्कल बाजी गरिएको थियो। तर, अहिलेसम्म डेपुटी गभर्नर नियुक्तसँग सम्बन्धित प्रस्ताव तयार नभएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।