नेप्सेको अनुमति बिना गरिएको मार्जिन कारोबार के हुन्छ ? 


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनुमति नलिई गरिएका मार्जिन कारोबारका विषयमा स्पष्ट पारेको छ। अब निर्धारित मापदण्डभन्दा बाहिर रहेका यस्ता कारोबार ३० दिनभित्र सेटल गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड ले ब्रोकर कम्पनीलाई मार्जिन कारोबार सुविधा दिने व्यवस्था फागुन १ गतेदेखि लागू गरेको भएपनि नेप्सेले यससम्बन्धी कार्य प्रक्रिया भने ढिलो गरी लागू गरेको हो। नेप्सेले हालै मात्र कार्य योजना जारी गर्दै ब्रोकरहरूले आफ्नो अनुमति लिएर मात्रै मार्जिन सुविधा दिन पाउने स्पष्ट पारेको छ।

तर, कार्य योजना आउनुअघि नै केही ब्रोकरहरूले यस्तो सुविधा दिन सुरु गरिसकेका थिए। यसरी अनुमति बिना गरिएको कारोबारको सेटलमेन्ट कसरी हुन्छ भन्ने चासो बढिरहेका बेला नेप्सेले मापदण्ड बाहिर रहेका लगानीकर्तालाई ३० दिनभित्र दुई विकल्प दिएको छ: कि त कारोबार सेटल गर्नुपर्ने वा १०० प्रतिशत मार्जिन राख्नुपर्ने।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले तोकिएको समयभित्र सेटल नगरेमा ती कारोबार लिक्विडेट गर्नुपर्ने बताए। यस्तै, ब्रोकर कम्पनीहरूको हकमा भने न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी अनिवार्य गरिएको छ। तोकिएको पुँजी पु¥याएका ब्रोकरलाई खास समस्या नहुने तर नपु¥याएकाले भने मार्जिन कारोबार गर्न नपाउने नेप्सेले जनाएको छ।

हालसम्म कति ब्रोकरले २० करोड पुँजी पु¥याएका छन् भन्ने तथ्यांक भने एकीकृत रूपमा उपलब्ध नभएको र छुट्टाछुट्टै फाइल हेर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। नेप्सेले अबदेखि मार्जिन कारोबार सुरु गर्न चाहने वा पहिले गरिरहेकाले पनि आफ्नो विवरण अद्यावधिक गराई अनुमति लिनुपर्ने जनाएको छ।