जब अर्थमन्त्री वाग्लेले गभर्नरको तारिफ गर्दै सुनाए चिनियाँ उखान: ‘माछा टाउकोबाट कुहिन्छ’


काठमाडौं – राजनीतिक उतारचढावसँगै घनिष्ठ मित्रतापछि घोचपेचको सम्बन्ध कायम रहेकाले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीचको सम्बन्ध कस्तो रहला भन्ने आमचासोबीच शुक्रबार वाग्लेको पदभार मन्तव्यमा दुईजनाबीच रोचक ‘केमेस्ट्री’ देखियो। भाषणको क्रममा उनले नेतृत्वको इमानदारिता सबैभन्दा महत्त्वपूर्ण हुने भन्दै चिनियाँ उखान सुनाए।

उनले भने, ‘एउटा चिनियाँ उखान पनि छ। गभर्नर साप त चिनियाँ भाषाको राम्रो ज्ञाता पनि हुनुहुन्छ। फिस रट्स फ्रम द हेड अर्थात् माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन्छ। टाउको राम्रो भयो भने तल बिग्रिन समय लाग्छ, तर टाउकै बिग्रियो भने सबै बिग्रिन्छ।’ उनले गभर्नर पौडेलले चिनियाँ भाषा पनि बुझ्ने भन्दै उक्त उखान उल्लेख गरेका थिए। वाग्लेको उक्त भनाइपछि गभर्नर पौडेल मुसुक्क हाँसेका पनि थिए।

वाग्लेले देशमा सुशासनसम्बन्धी ऐन, कानुन र संविधानका व्यवस्था धेरै भए पनि समस्या कानुन अभाव नभई कार्यान्वयन अभाव भएको बताए । उनले सुशासन, इमानदारिता र राम्रो नेतृत्व भए मात्रै प्रशासन र देशको प्रणाली सुधार हुने बताए। उनले सुशासनसम्बन्धी धेरै ऐन कानुन बने पनि इमानदार कार्यान्वयन नभएसम्म परिवर्तन नदेखिने बताए।

पदभार मन्तव्यपछि मत्थर देखियो गभर्नरको छटपटी

विगतमा राजनीतिक प्रतिस्पर्धाका कारण वाग्ले र पौडेलबीचको सम्बन्धमा दरार सिर्जना भएको टिप्पणी र रास्वपाको नियुक्ति खारेज गर्ने घोषणापछि गभर्नर पौडेलमा बेचैनी देखा पर्न थालेको थियो। उनले वाग्लेको पदभार अगावै राष्ट्रिय टेलिभिजन, युट्युब अन्तर्वार्ता र सार्वजनिक समारोहमा आफ्नो नियुक्तिबारे चर्चा गर्दै हिँडेका थिए।

उनले पदहरूको स्थायित्व नरहने र आफूलाई दिइएको अवधिसम्म काम गर्ने भन्दै ‘सकेसम्म राजीनामा नदिने’ आशयका अभिव्यक्ति दिँदै आएका थिए। नेपाल राष्ट्र बैंक ऐनअनुसार नियुक्त हुने गभर्नरको पदबाट हटाउन सरकारलाई सहज पनि नरहेको जानकारहरू बताउँछन्। यद्यपि अर्थमन्त्रीका सल्लाहकार समेत मानिएको गभर्नर पदमा आसीन व्यक्तिले सुमधुर सम्बन्ध कायम राख्न नसकेमा नैतिकताका आधारमा पद छोड्नु पर्ने तर्क विज्ञहरूले गर्दै आएका छन्। 

‘दलीयकरणले बिग्रिएको प्रणाली सुधार्नुपर्छ’

अर्थमन्त्री वाग्लेले पदभार मन्तव्यका प्रशासन, शिक्षा, स्वास्थ्य र आर्थिक प्रणालीमा दलीयकरण गहिरोसँग प्रवेश गरेको भन्दै त्यसलाई सुधार्नुपर्ने बताए। उनले अब पुराना दलीय आग्रह नराखी मेरिट प्रणालीका आधारमा काम गर्नुपर्ने बताए। उनले भने, ‘कर्मचारीतन्त्रदेखि शिक्षा, स्वास्थ्य र समग्र आर्थिक संरचनासम्म दलीय प्रभावले प्रणाली कमजोर भएको छ, अब त्यसलाई सुधार्ने काम सुरु गर्नुपर्छ।’

वाग्लेले देश ५–१० वर्षमा एक्कासि विकसित हुने होइन, साना–साना सुधार र नीतिगत परिवर्तनबाट अगाडि बढ्ने बताएका थिए। उनले नेपाल एलडिसी (अल्पविकसित देश) बाट माथि उठ्ने चरणमा रहेको भन्दै अब आर्थिक संरचना बलियो बनाउनुपर्ने बताएका थिए।