काठमाडौं – सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको सेवा निवृत्त हुने मिति नजिकिँदै जाँदा संगठनको भावी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढ्दै गएको छ। हालै गठन भएकाे सरकारले नयाँ आईजी नियुक्त गर्ने भएकाले यस विषयले थप महत्त्व पाएको हो। आईजी अर्याल २०८३ साल वैशाख १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै सुरक्षा निकाय सञ्चालन हुने भएकाले सशस्त्रका प्रमुख नियुक्तिलाई विशेष रूपमा हेरिने सरोकारवालाहरू बताउँछन्। गृह मन्त्रालय र सुरक्षा निकायबीच स्पष्ट कार्ययोजना र विश्वासको वातावरण निर्माण भए शान्ति सुरक्षामा सुधार आउन सक्छ। तर, राजनीतिक हस्तक्षेप बढेमा निर्णय प्रक्रिया कमजोर हुने जोखिम पनि रहन्छ। सशस्त्र प्रमुखको नियुक्ति मात्रले होइन, गृह मन्त्रालयको नीति, समन्वय र कार्यशैलीले देशको शान्ति सुरक्षा अवस्था निर्धारण गर्ने भएकाले अब बन्ने सरकारको गृहमन्त्री कानुनी रूपमा सक्षम, समन्वयकारी र कार्यान्वयनमा दक्ष हुनुपर्ने पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बताउँछन्।

अर्याल हालका नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीसँगै प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । कार्की गत कात्तिकमा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका हुन्। अर्याल २०७९ सालमा सशस्त्र प्रहरी बलको आईजीमा नियुक्त भएका थिए। उनले १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकका रूपमा प्रहरी सेवा सुरु गरेका थिए। ८ जेठ २०५८ मा सशस्त्र प्रहरी बल गठन भएपछि उनी सशस्त्र सेवामा प्रवेश गरेका थिए।
सोही वर्ष उनी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। २०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी), २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र २०७५ सालमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए। उनले चार पटक संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा काम गरेका छन्। उनले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहु चतुर्थ लगायत आठ वटा विभूषण, मानपदवी, पदक तथा अलंकार प्राप्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास, समाजशास्त्र, राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।
उनी सशस्त्र प्रहरी बलका १२औँ महानिरीक्षक हुन्। उत्कृष्ट सेवाको कदरस्वरूप उनलाई सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रबल जनसेवाश्री, संयुक्त राष्ट्र शान्ति पदक, विदेशी सेवा पदक, गोरखा दक्षिण बाहु चतुर्थ, विपद् उद्धार पदक लगायतका विभिन्न सम्मान र प्रशंसापत्र प्रदान गरिएको छ। सेवाका क्रममा उनले संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, इटाली, सुडान, दक्षिण सुडान, लाइबेरिया, चीन र भारतको भ्रमण गरेका छन्।
दीर्घ सेवाकालमा उनले विभिन्न महत्वपूर्ण कमान्ड, निरीक्षण तथा प्रशिक्षणसम्बन्धी जिम्मेवारी सम्हालेका छन् । उनले कालिञ्चोक गणका गणपति, सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटनका कमाण्डेन्ट, संयुक्त राष्ट्र शान्ति स्थापना तालिम महाविद्यालयका कमाण्डेन्ट, नं. २ छिन्नमस्ता ब्रिगेडका ब्रिगेड कमाण्डर, नं. ९ पशुपतिनाथ ब्रिगेडका ब्रिगेड कमाण्डर, सञ्चालन विभाग प्रमुख लगायतका पदमा सेवा गरेका छन्। अर्याल सेवा निवृत्त हुने मिति नजिकिँदै जाँदा संगठनको भावी नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने मन्त्रिपरिषद्ले नयाँ आईजी नियुक्त गर्ने भएकाले नयाँ आईजी नियुक्ति कसको भागमा पर्ला भन्ने विषय थप चासोको केन्द्रमा पुगेको छ।
को-को छन् प्रतिस्पर्धामा
सशस्त्र प्रहरी बलभित्र पनि आईजीका लागि आन्तरिक प्रतिस्पर्धा बढ्न थालेको छ। आईजीको प्रतिस्पर्धामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेश ठाडा मगर रहेका छन्। पौडेल वरीयतामा पहिलो नम्बरमा रहेकाले आईजीका सबैभन्दा बलियो दाबेदार मानिएका छन्। तर, प्रतिस्पर्धामा रहेका अन्य एआईजी पनि नेतृत्व क्षमता र अनुभवका हिसाबले सक्षम भएकाले प्रतिस्पर्धा तीव्र बनेको छ।
नारायणदत्त पौडेल २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका थिए। वंशीराज दाहाल २०७९ असोज २८ मा एआईजीमा बढुवा भएका हुन्। वरीयताको हिसाबमा पौडेल पहिलो नम्बरमा छन् भने दाहाल झन्डै पाँच महिना पछि बढुवा भएका हुन्। साथै, गणेश ठाडा मगर २०८२ असार ३ मा एआईजीमा बढुवा भएका थिए। हाल पौडेल मानवस्रोत विकास विभाग, दाहाल सीमा सुरक्षा विभाग र ठाडा मगर कार्य विभागका प्रमुख छन्। सशस्त्र प्रहरी नियमावली–२०७२ को नियम ५३ अनुसार सरकारले सशस्त्र प्रहरी बलको आईजीपी नियुक्त गर्दा एआईजीमध्येबाट ज्येष्ठता र कार्यकुशलतालाई मुख्य मापदण्ड बनाउने व्यवस्था छ। नियमावलीले आईजीपी चयन प्रक्रियालाई पारदर्शी र योग्यतामुखी बनाउन विशेष जोड दिएको छ।
नयाँ सशस्त्र प्रहरी प्रमुख चयन गर्दा नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय दक्षता तथा रचनात्मक क्षमतालाई प्रमुख आधारका रूपमा लिइने उल्लेख गरिएको छ। साथै, आफूभन्दा कनिष्ठ कर्मचारीलाई प्रोत्साहन गर्ने र प्रभावकारी रूपमा परिचालन गर्न सक्ने क्षमता पनि महत्वपूर्ण मानिन्छ। यस प्रावधानले सशस्त्र प्रहरी बलभित्र योग्य, सक्षम र जिम्मेवार नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। वरीयताका हिसाबले तेस्रो स्थानमा रहे पनि एआईजी मगरले सेवाकालमा देशका विभिन्न प्रदेशमा बसेर काम गर्दै व्यावहारिक नेतृत्वको उदाहरण प्रस्तुत गरेकाले उनको नाम पनि चर्चामा छ। उनी प्रशासनिक अधिकारी मात्र नभई फिल्डमा खटिने, परिणाम दिने र टोलीलाई साथ लिएर अघि बढ्ने कमाण्डरका रूपमा चिनिन्छन्।



About Us
प्रतिक्रिया