विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं नार्गाजुन नगरपालिका–१ की ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोककाे सुनकोशी गाउँपालिका–६ की ३८ वर्षीया संगीता लामा तथा सिन्धुपाल्चोक लिशङ्खुपाखर गाउँपालिका–७ का ४७ वर्षीय विनोद लामालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा ब्यागेज स्क्रिनिङ गर्ने क्रममा उनीहरुले अमेरिकी डलर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेलापरी पक्राउ गरिएको जानकारी दिए। 

प्रहरीले अनिताका साथबाट अमेरिकी डलर १०० दरको १०० थान गरी १० हजार, सङ्गीता लामाको साथबाट अमेरिकी डलर एक सय दरको १०० थान गरी १० हजार तथा विनोद लामाका साथबाट अमेरिकी डलर एक सय दरको ८९ थान आठ हजार ९०० गरी कुल अमेरिकी डलर २८ हजार ९०० बरामद गरिएको जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रवक्ता सिलवालले बताए।