अनलाइन सट्टाबाजी खेलाउने एक जना पक्राउ, ३६ हजार बरामद 


काठमाडौं – सामाजिक सञ्जाल र अनलाइन भुक्तानी प्लेटफर्ममार्फत जुवा खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी घर भई काठमाडौंको कागेश्वरी मनोहरा बस्ने  मोहन लुइँटेल रहेका छन् । 

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार लुइटेलले ‘गेम रुम’, ‘गेम भल्ट’,  ‘जुवा’ र‘लास भेगास’ नामक बेटिङ साइटमार्फत अनलाइन जुवा सञ्चालन गर्दै आएका थिए। उनले प्रयोगकर्तालाई डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी सङ्कलन गरी जुवा खेलाउने गरेको खुलेको प्रहरीले बताएको छ ।

लुइटेललाई पक्राउ गरेपछि उनको साथबाट बरामद डिजिटल उपकरणहरूको सूक्ष्म अनुसन्धान गर्दा अनलाइन बेटिङ सञ्चालनको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।