ट्राभल लटरीको बहानामा १७५ देश घुमाइदिने भन्दै २ करोड ७२ लाख ठगी, ६ भारतीयसहित १ नेपाली पक्राउ


काठमाडौं – ट्राभल एजेन्सी सञ्चालन गरी सर्वसाधारणलाई विभिन्न देशमा भ्रमण गराइदिने भन्दै ठगी गर्नेहरू पक्राउ परेका छन्। शीरटेल होलिडेज प्राइभेट लिमिटेड ट्राभल नामक एजेन्सीबाट सर्वसाधारण व्यक्तिहरूलाई युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमणमा जानको लागी विभिन्न नम्बरबाट फोन गरी ट्राभल लटरी परेको छ भन्दै ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  विवेक रेग्मी , हुसेन सैयद, साजिद ओमर सैयद, महम्मद ईमरान, मिर खालिद हुसेन, रजाक महम्मद, समादा गिरी रहेका छन्। रेग्मी बाहेक अरू सबै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। उनीहरूले युरोप, एसिया, अफ्रिका लगायत १७५ देशमा भ्रमण गराउने भन्दै झुकाएर रकम असुल्ने कार्य भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो।

उनीहरूको साथबाट प्रहरीले नेपाली नगद सात लाख, कम्प्युटर, ल्यापटप, ट्याबलेट, मोबाइल फोन, भारतीय सिमकार्ड, पासपोर्ट, रिसिप्ट प्याड, ट्याक्स इन्भोइस, हजारौँ कुपन तथा विभिन्न कागजातहरू बरामद गरेको छ। हालसम्म ३२८ जना पीडितबाट करिब २ करोड ७२ लाख ६५ हजार रुपैयाँ ठगी भएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेग्मीले आफ्नो नाममा शीरटेल होलिडेज प्राइभेट लिमिटेड नामक कम्पनी दर्ता गरेका थिए। उनीहरूले कम्पनीको काम कारबाहीको लागी ३० जना नेपाली कामदार नियुक्त गरी २०२५ नोभेम्बर १६ बाट काम सुरु गरेका थिए। त्यस कम्पनीमा राखिएका कामदारलाई कम्पनी प्रधान कार्यालय भारत, हैदराबादमा भएको बताएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले लटरी  अफरमा सहभागी गराउन भाटभटेनी, लबिङ्ग मल, सिभिल मल लगायतका विभिन्न स्थानहरूमा स्टल राखी मानिसहरूलाई फारम भराउने गरेका थिए। साथै, उनीहरूले फारम भर्ने सबैलाई लटरी पर्‍यो भनेर फोन गरी कार्यालयसम्म बोलाउने गर्थे। छुट्टी प्याकेजको प्रस्ताव, ग्राहकको कार्यालय भ्रमण गरेको दिनसम्म मात्र वैध भनी झुकाएर सोही दिन पैसा कम्पनीको खाता स्थानान्तरण गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, प्याकेज बुक गरी रकम भुक्तानी गरिसकेका व्यक्तिहरू पनि उनीहरूले करार अनुसार भ्रमण नगराएको, पैसा फिर्ता माग्न जाँदा विभिन्न बाहान बाजी गरी पैसा फिर्ता नगरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरूलाई थापा गाउँ, लाखे चौरमार्गस्थित शीरटेल होलिडेज प्रालिको कार्यालयबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।