रविसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न सर्वोच्चको आदेश


काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयबाट भएका निर्णय र सम्बन्धित कागजातहरू पेश गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यसअघि भएका निर्णय तथा अभिलेख स्पष्ट रूपमा पेश गर्न महान्यायाधिवक्ताको कार्यालयलाई निर्देशन दिएको हो। अदालतले विशेषगरी माघ २ मा भएको संशोधित निर्णय पनि अनिवार्य रूपमा पेस गर्न आदेश दिएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेमाथि यसअघि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी हुन्। तर, उनको निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले गत माघ ४ गते रिट दायर गरेका थिए। उनीहरूले मुद्दा फिर्ता गर्न नमिल्ने जिकिर गर्दै महान्यायाधिवक्ताको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्।