खाद्य सुरक्षामा एडिबीले गर्‍यो १४ अर्ब डलर लगानी, सन् २०३० सम्म ४० अर्ब डलर लगानी गर्ने घोषणा


काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले एसिया–प्रशान्त क्षेत्रमा खाद्य सुरक्षा सुदृढ गर्न सन् २०२२ देखि सन् २०२५ का लागि निर्धारण गरिएको १४ अर्ब डलरको प्रतिबद्धता पुरा गर्दै एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। फिलिपिन्सको राजधानी मनिलामा आयोजित ‘एसिया एण्ड द प्यासिफिक फूड सिस्टम फोरम २०२६’ का क्रममा बैंकले आफ्नो लक्ष्यभन्दा बढी लगानी परिचालन भएको जानकारी दिएको हो।

जलवायु परिवर्तन र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण बढ्दो खाद्य असुरक्षालाई सम्बोधन गर्न यो लगानी खर्च गरिएको बैंकले जनाएको छ। यो रकमले एसिया तथा प्रशान्त क्षेत्रमा खाद्य संकटलाई न्यूनीकरण गर्न र उत्पादनशील क्षेत्रमा लगानीका लागि सहयोग गरेको एसियाली विकास बैंकको भनाई छ।

सन् २०३० सम्ममा ४० अर्ब डलर लगानी गर्ने घोषणा

एडीबीले हालको सफलतालाई निरन्तरता दिँदै सन् २०३० सम्मका लागि आफ्नो लगानीको लक्ष्यलाई विस्तार गरी ४० अर्ब डलर पुर्‍याउने घोषणा गरेको छ। यो महत्त्वाकाङ्क्षी योजनामार्फत थप वित्तीय सहयोग र बलियो साझेदारीका साथै कृषि प्रणालीमा आधुनिक सुधार गर्ने लक्ष्य लिइएको छ।

बैंकले सन् २०३० सम्ममा सो लगानीबाट जलवायु परिवर्तनको जोखिम सामना गर्न सक्ने कृषिको विकास, खाद्यान्न उत्पादनदेखि वितरणसम्मको प्रक्रियालाई प्रभावकारी बनाउने, कृषिमा नयाँ प्रविधिको प्रयोग गरी पोषण र जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य तय गरेको छ। यस्तै, खाद्य असुरक्षाको उच्च जोखिममा रहेका समुदायको सुरक्षामा केन्द्रित हुने लगायतका लक्ष्य तय भएका छन्। एडिबीका अनुसार यो ४० अर्ब डलरको लगानीले एसिया–प्रशान्त क्षेत्रका विकासोन्मुख देशहरूमा खाद्य प्रणालीलाई अझ सुरक्षित, दिगो र समावेशी बनाउन मद्दत पुग्नेछ।