को बन्लान् गृहमन्त्री ?

‘देखिएकाभन्दा छेकिएकालाई अवसर’ दिने रविको उद्घोषले आकांक्षीहरूमा तरंग


काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसद अभिमुखीकरण कार्यक्रममा सभापति रवि लामिछानेको सम्बोधनले मन्त्री बन्न लिगलिगे दौड गर्ने सांसदहरूमा तरङ्ग उत्पन्न गराएको छ। सभापति लामिछानेले मन्त्री बन्ने दौडधुपमा नलाग्न निर्देशन दिएका छन्। उनले ‘देखिएका’ भन्दा ‘छेकिएका’लाई अवसर दिने अभिव्यक्तिसँगै आकांक्षीहरूबीच नयाँ तरङ्ग सिर्जना भएको हो।

स्पष्ट बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमा गृहमन्त्री बन्न लिगलिगे दौडमा डोलप्रसाद (डीपी) अर्याल, ओमप्रकाश अर्याल र दीपकराज बोहरा प्रमुख दाबेदारका रूपमा देखिएका छन्। विपिनकुमार आचार्य र राजु पाण्डेको नाम पनि वैकल्पिक विकल्पका रूपमा चर्चामा छ। यद्यपि, सभापति रवि लामिछाने स्वयंले पनि परिस्थिति अनुसार गृह मन्त्रालय सम्हाल्न सक्ने सम्भावना रहन्छ।

रविका ‘पर्दापछाडिका सहयात्री’ दीपक बोहरा र विपिन आचार्य
रवि लामिछानेको टेलिभिजन करियरको उत्कर्षदेखि सहयात्रीका रुपमा काम गरेका दीपकराज बोहरा अहिले पनि पार्टीभित्र सभापतिका विश्वास पात्र मानिन्छन्। ‘सिधाकुरा’ टेलिभिजन कार्यक्रममा पर्दापछाडिको भूमिकामा बोहराले नै काम गर्दै आएका थिए। विपिन आचार्य पनि उनका अर्का विश्वासपात्र हुन्। जसलाई रविले ग्यालेक्सी टिभीमा क्रियटिभ एडिटरमा नियुक्त गरेका थिए। पार्टी स्थापनाकालदेखि रविसँ सँगै रहने बोहरा र आचार्यले अघिल्लो निर्वाचनमा चुनाव उठ्नेभन्दा ‘पर्दा पछाडिकै’ भूमिका रहन रुचाए। बुधबार रविले ‘छेकिएका’लाई अवसर दिने भनेर आफ्नो ‘पर्दा पछाडिका’ सहकर्मीहरू इङ्गित गर्न खोजेको भनेर रास्वपाभित्र चर्चा भएको छ।

रविलाई बालेन क्लस्टरको चुनौती
रास्वपाले प्रधानमन्त्रीमा बालेन्द्र शाह ‘बालेन’लाई नै अघि सारेर चुनावमा होमिएकाले मन्त्रीमण्डलभित्र कार्य विभाजनमा रवि पक्षलाई दबाब परेको देखिन्छ। खासगरीबालेन समूहले अर्थ मन्त्रालय र गृह मन्त्रालयमा आफ्नो समूहका सांसद अघि सारेपछि पार्टी अनिर्णीत रहेको रास्वपा निकट नेताहरू बताउँछन्। पार्टी सभापतिले चुनावअघि नै डा. स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट लेख्दै अर्थमन्त्रीको तयारी गर्न निर्देशन दिइसकेकाले बालेन समूहको दबाब व्यवस्थापन गर्न अहिले रवि पक्षलाई चुनौतीपूर्ण छ। बालेन समूहले ओमप्रकाश अर्याललाई नै गृह मन्त्रालयमा निरन्तरता लिने वा राजु पाण्डेलाई गृहमन्त्री नियुक्त गर्नुपर्ने प्रस्ताव गरेपछि अहिले रवि समूह अन्योलमा छ। यसले सरकार गठन प्रक्रियालाई नै थप लम्ब्याउने सम्भावना बढेको छ।

पावर सेयरिङको झमेलामा गृह
गृह मन्त्रालय सुरक्षा, प्रशासन तथा कानुन कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील निकाय हो । देशभर शान्ति–सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने, विपद् व्यवस्थापन गर्ने र राजनीतिक स्थायित्व कायम राख्ने जस्ता महत्वपूर्ण जिम्मेवारी यही मन्त्रालयमार्फत सञ्चालन हुने भएकाले यसलाई सरकारको ‘पावर सेन्टर’का रूपमा हेरिन्छ। यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने चर्चा बलियो बन्दै जाँदा गृह मन्त्रालयमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा पार्टीभित्र र बाहिर दुवै ठाउँमा बहस तीव्र बनेको हो।

भावी गृहमन्त्रीका चुनौती
अब बन्ने गृहमन्त्री पद नियुक्ति जति पेचिलो छ, त्यो पद बहन गर्ने पात्रका लागि चुनौती पनि उत्तिकै ठुलो छ। जेन–जी आन्दोलनको जगमा भएको परिवर्तन पछि स्पष्ट जनादेश पाएको यो सरकारको गृहमन्त्रीको मुख्य चुनौती भनेकै आन्दोलनमा खस्किएको सुरक्षाकर्मीको मनोबल उठाउने हो। आन्दोलनमा प्रहरीमाथि भएको आक्रमण, निवस्त्रिकरण तथा निसशस्त्रिकरणका गतिविधिले निम्न तहका प्रहरी अधिकृत तथा जवानहरूमा मनोबल कमजोर देखिएको छ। गृहमन्त्रीले अभिभावकीय रूपमा मनोबल बढाउन भूमिका निर्वाह गर्नुपर्ने जानकारहरू बताउँछन्। अपराध नियन्त्रण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र संवेदनशील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि नयाँ गृहमन्त्रीको मुख्य चुनौती रहेको जानकारहरूको टिप्पणी छ।

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका अनुसार अबको गृहमन्त्री कानुनी रूपमा सक्षम, समन्वयकारी र कार्यान्वयनमा दक्ष हुनुपर्छ। उनले भने, ‘सीमित स्रोत–साधनबीच सुरक्षा व्यवस्थापन, नेपाल–भारत खुला सीमा नियन्त्रण, अन्तर्राष्ट्रिय अपराध नियन्त्रण र कानुनी सुधार मुख्य चुनौतीका रूपमा देखिएका छन्।’

यस्तै, सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन, जिम्मेवारी बाँडफाँटमा स्पष्टता, तथा इन्टरपोलमार्फत फरार अपराधीलाई कानुनी दायरामा ल्याउने क्षमता पनि गृहमन्त्रीमा अपेक्षित रहेको उनको भनाइ छ। यसबिच, ओमप्रकाश अर्यालले अन्तरिम सरकारमा गृह मन्त्रालय सम्हालेको अनुभव, डीपी अर्यालको संगठनभित्रको प्रभाव, बोहरा र आचार्यको नेतृत्वसँगको निकटता यी सबै पक्षले प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।