यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर चैत २६ गतेदेखि बिक्री खुला


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यस अर्थ कम्पनीले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १७ गते शेयरधनी दर्ता किताब (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका आगामी वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।