नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्नुपर्नेः महानिरीक्षक कार्की


काठमाडौं – प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान् एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधवार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन्। महानिरीक्षक कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै यसले सङ्गठनको समग्र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताए। 

हाम्रो धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने उनले बताए। कार्कीले आ–आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना सङ्कलन तथा विश्लेषणलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताए। सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशन दिए। 

साथै, आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्य गर्नुपर्ने तथा हिरासत व्यवस्थापनमा समेत विशेष सतर्कता अपनाई कार्य गर्न उनले निर्देशन दिए।