जलविद्युत् कम्पनीका १५ अर्ब रुपैयाँ बढीको आईपीओ पाइपलाइनमा


काठमाडौं – सार्वजनिक शेयर निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पर्खाइ रहेको तथ्यांक छ। सेबाेनका अनुसार होटल तथा पर्यटन क्षेत्रका १४ कम्पनी, हाइड्रोपावर क्षेत्रका ३१ कम्पनी, इन्भेस्टमेन्ट क्षेत्रका ४ कम्पनी, माइक्रोफाइनान्स तथा प्रोसेसिङ क्षेत्रका २४ कम्पनी, माइक्रो इन्स्योरेन्स क्षेत्रका ३ कम्पनी र अन्य क्षेत्रका १३ कम्पनी आईपीओ निष्काशनको प्रक्रियामा रहेको बोर्डले जानकारी दिएको छ।

सार्वजनिक शेयर निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ८९ कम्पनी पर्खाइ रहेको तथ्यांक छ।

तीमध्ये सबैभन्दा धेरै कम्पनी हाइड्रोपावर क्षेत्रका छन्। सेबोनको आईपीओ पाइपलाइन विवरणअनुसार हाइड्रोपावर क्षेत्रका ३१ कम्पनीले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन् यी कम्पनीहरूले हाल बोर्डको स्वीकृतिको प्रतीक्षा गरिरहेका छन्।
सेबोनकाे तथ्यांकअनुसार ती कम्पनीहरूले प्रस्ताव गरेको कुल शेयर निष्काशन रकम करिब १५ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबर रहेको छ। साथै, ती ३१ कम्पनीले कुल १४ करोड ७३ लाख ९१ हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका हुन्।

यी हुन् ठूलो पुँजीका पाँच कम्पनी

हाइड्रोपावर क्षेत्रका पाइपलाइनमा रहेका कम्पनीहरूमध्ये केही कम्पनीहरूले ठूलो परिमाणमा आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्। तीमध्ये सिउरी न्यादी पावर लिमिटेडले सबैभन्दा ठूलो परिमाणको आईपीओ प्रस्ताव गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ, जसको कुल मूल्य करिब ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबर रहेको छ।

सेबोनकाे तथ्यांकअनुसार ती कम्पनीहरूले प्रस्ताव गरेको कुल शेयर निष्काशन रकम करिब १५ अर्ब १४ करोड ६३ लाख रुपैयाँ बराबर रहेको छ।

त्यसैगरी, युनाइटेड मेवा खोला हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २३ लाख कित्ता शेयर निष्काशनका लागि अनुमति मागेको हो। जसको मूल्य १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। त्यस्तै, मेवा डेभलर्पस लिमिटेडले समेत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड १२ लाख कित्ता शेयर निष्काशनका लागि बोर्डसमक्ष आवेदन दिएको छ। जसको शेयर मूल्य १ अर्ब १२ करोड रुपैयाँ हुनेछ।

त्यसैगरी, भिजन इनर्जी एण्ड पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८३ लाख कित्ता शेयरका लागि अनुमति मागेको छ। यससँगै इलेक्ट्रो पावर कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८१ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि बोर्डसँग समक्ष अनुमति मागेको हो।