काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरूप देशमा महंगीवृद्धिको भयावह समस्या देखिनसक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।
यो समस्या केही समयका लागि रहिरहने संकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा औंल्याए। ‘विगत केही दिनदेखि मध्यपूर्वका देशमा भएका घटनाले हामीलाई प्रभाव पार्ने दखिएको छ। मोटरसाइकल चढेर हिँड्नेदेखि दुध लिएर घर जानेसम्मका जोकोहीको पनि खर्च बढेको छ,’ उनले भने, ‘सबैतिर पेट्रोलियमको मूल्यवृद्धिलाई देखाएर मूल्यवृद्धि भयावह हुने सम्भावना बढेर गएको छ।’
सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गरेका उनले यो समस्या केही समयका लागि रहिरहने संकेत देखिएको भन्दै उनले यस आधारमा सरकारले केही समय पेट्रोलियम पदार्थमा सहुलियत दिएर मूल्यलाई स्थिर राख्नुपर्ने बताए। ‘यो समस्या केही समयका लागि रहिरहने संकेत देखिएको छ। यस आधारमा सरकारले पेट्रोलियम पदार्थमा केही समयसम्म सहुलियत दिनुपर्छ र मूल्यलाई स्थिर बनाउनुपर्छ’, उनले भने।
महामन्त्री पौडेलले वैकल्पिक ऊर्जाको प्रयोगमा सरकारले नागरिकलाई सचेतसमेत बनाउनुपर्ने भन्दै भान्सामा प्रयोग भइरहने एलपी ग्यासको सट्टा अब इन्डक्सन प्रयोगलाई प्रोत्साहित गर्न आग्रह गरे। ‘वैकल्पिक ऊर्जाबाट चल्ने गाडीमा प्रोत्साहित गर्नुपर्छ। यस्तै वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोलियम पदार्थको उपभोग न्यूनीकरण गर्न सकिने सबै स्थिति प्रयोगमा ल्याउन सक्नुपर्छ,’ उनले भने। पेट्रोलमा भएको मूल्यवृद्धि कारण महंगी बढ्ने खतरा रहेको र त्यसलाई रोक्न सक्नुपर्ने भन्दै उनले बजार अनुगमन गरेर कालोबजारी हुन नदिन आग्रह गरे। ‘कालोबजारी हुन नदिने उपभोग्य सामग्री संग्रह गरेर राख्ने र उपभोक्तालाई दुःख दिने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्न सरकारले सक्नुपर्छ’, उनले भने। आफूले सुझाएका सतर्कताका उपाय अपनाउन सकिएमा अप्ठ्यारो अवस्थामा पनि जनवीवन सामान्य हुन सक्ने उनले बताए।



About Us
प्रतिक्रिया