काठमाडौं – ४९ वर्षीय एक पुरुषलाई हनी ट्याप पारी स्कुटर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका एनी तामाङ र विजय सुनार रहेका छन्। प्रहरीकाअनुसार सामाजिक सञ्जाल फेसबुकमा एनी नाम बताउनेसँग पीडितको चिनजान गरी फोनमा समेत कुराकानी हुँदै आएको थियो।
त्यसक्रममा एनीले पीडितलाई फागुन २९ गते जुटपानीको मिठुचोकबाट गुम्बा जाने भित्री बाटोमा भेट्न बोलाएको पाइएको प्रहरीले जनाएको छ। पीडित उक्त स्थानमा भेट्न जाँदा अन्यायीले योजनाबद्ध तवरले अन्य मानिसलाई बोलाई पीडितलाई कुटपिट गरी पीडितको साथमा रहेको स्कुटर लुटपाट गरी उनीहरू फरार भएका थिए।
पीडितले आफ्नो स्कुटर फिर्ता माग्दा रकम माग गर्ने, रकम नदिए जबरजस्ती करणी कसुरमा मुद्दा हाली फसाई दिने भनी धाकधाम्की दिने गरेको प्रहरीले जनाएको छ। प्रहरीले यस घटनामा अनुसन्धान गर्ने क्रममा तामाङ र सुनारलाई चितवनको विरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया