काठमाडौं – याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामि चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो।
सो शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। सो आईपीओमा स्थानियले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा बैशाख ७ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै,स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया