चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्दै स्नो रिभर्स


काठमाडौं – स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिशेयर १०० रुपैयाँ दरका ९३ हजार ६५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको वडा नं. ८ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं.५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. १ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

आयोजन प्रभावित क्षेत्रका स्थानियले सो आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २३ गते हुनेछ भने ढिलोमा बैशाख ८ गते सम्म हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना स्थल, याम्फुदिन, नेपाल बैंकको सिरी जङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।