‘फेक रेस्क्यू’ प्रकरणः ट्रेकिङ कम्पनीका सञ्चालक पक्राउ


काठमाडौं- पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप एक जनालाई प्रहरीले  पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ स्थायी घर भएका ५० वर्षीय पासाङ शेर्पा रहेका छन्। उनी पानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसन प्रालिका सञ्चालक हुन्। 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार रेस्क्यू फ्लाइट सञ्चालन गर्ने कम्पनीहरू माउन्टेन रेस्क्यु सर्भिस प्रालि, एभरेस्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स प्रालि र नेपाल चार्टर सर्भिस प्रालि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती कम्पनीहरूले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलका अभिलेखहरूमा हेरफेर गरी यात्रु र कार्गो मेनिफेस्ट फरक बनाउने, किर्ते विवरण तयार गर्ने तथा सोही आधारमा बिल बनाउने गरेको आरोप छ।

त्यसैगरी, उद्धार गरिएको भनिएका विदेशी पर्यटकलाई बीमा पोलिसीमा उल्लेख भएअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएको देखाउने उद्देश्यले भर्ना तथा डिस्चार्ज रिपोर्ट, मेडिकल रिपोर्टलगायतका कागजातहरू समेत तयार गरी बीमा रकम दाबी गरिएको अनुसन्धानबाट खुलेको छ।

उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। साथै, हालसम्म यस प्रकरणमा ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बीमाका नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालकसमेत गरी कुल १० जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।