डिल्लीबजार कारागारबाट रिहा भए दीपक मनाङे 


काठमाडौं – गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन्। ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका उनी कैद भुक्तान गरेर आज छुटेका हुन्। मनाङेले चक्रे मिलन भनिने गुन्डा नाइके मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको अभियोगमा कैद भुक्तानी गरिरहेका थिए। उनी जेनजी आन्दोलनका क्रममा समेत कारागारबाट भागेका थिएन।

मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो। सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। २०६१ वैशाख ३१ मा काठमाडौंको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन्। उनले पटक-पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए।

उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका थिए। सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए। मनाङेले २० प्रतिशत कैद छुट पाएका छन्।