डडेल्धुरामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु 


काठमाडौं – डडेल्धुरामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय सुबास महरा रहेका छन्। उनले घरभित्र राखेको अवैध भरुवा बन्दुक समाती फोटो खिच्ने क्रममा मंगलबाट साँझतिर एक्कासी बन्दुक पड्किन गई गम्भीर घाइते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा, डडेल्धुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो।

बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ।