प्रतिनिधि सभा चुनावमा जित्नेभन्दा हार्ने उम्मेदवार बढी खर्चिला


काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुने उम्मेदवारभन्दा पराजित उम्मेदवारको चुनावी खर्च बढी देखिएको छ। निर्वाचन कार्यालयमा हालसम्म पेस भएका खर्च विवरणले यस्तो तथ्य देखाएको हो। सार्वजनिक विवरणअनुसार सबैभन्दा कम खर्च गर्ने उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन–२ का विजयी उम्मेदवार रवि लामिछाने हुन्। उनले चुनावमा ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ मात्रै खर्च गरेको विवरण पेस गरेका छन्।

त्यस्तै झापा–५ बाट विजयी भएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेको विवरण दिएका छन्। रास्वपाकै तर्फबाट दाङ–२ मा उम्मेदवारी दिएका विपिन आचार्य ले १६ लाख २९ हजार ५ सय ६२ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। तर, चुनावमा पराजित भएका केही उम्मेदवारको खर्च भने विजेताभन्दा उल्लेख्य रूपमा बढी देखिएको छ।

पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देही–२ बाट निर्वाचन लड्दा २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन्। सोही क्षेत्रका पराजित उम्मेदवार चुन्नप्रसाद पौडेलले २४ लाख ४३ हजार ८ सय २२ रुपैयाँ खर्च गरेको देखिएको छ भने रुपन्देही–३ का बासुदेव घिमिरेले १९ लाख ४६ हजार ३ सय रुपैयाँ खर्च भएको विवरण दिएका छन्।

त्यस्तै, बैतडी–१ का उम्मेदवार चतुरबहादुर चन्दले चुनावमा ३२ लाख ९५ हजार रुपैयाँ खर्च गरेको विवरण पेस गरेका छन्। प्युठान–१ का गोविन्दराज पोखरेलले २४ लाख ८० हजार २ सय १५ रुपैयाँ खर्च गरेको बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूले पेस गरेको खर्च विवरणको परीक्षण गरिरहेको जनाएको छ। आयोगका अनुसार तोकिएको सीमा नाघेको वा अपारदर्शी खर्च देखिएमा आवश्यक कारबाही गर्ने व्यवस्था छ।