काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपेको छ। कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो। कम्पनीले फागुन ११ गतेदेखि फागुन २५ गतेसम्मका लागि निष्काशन गरेको सो शेयरमा कम्पनीले माग गरेअनुसारको आवेदन नपरेकाले सो शेयर खरिदका लागि म्याद थपेको हो। कम्पनीको सो आईपीओमा अब भने चैत १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ। त्यस्तै, बाँकी रहेको २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं. १ का स्थानिय बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ४७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया