बाँकेमा १३ हजार ४४२ मत बदर


नेपालगञ्ज – बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको छ। प्रतिनिधसभा सदस्य निर्वाचन २०८२ का क्रममा जिल्लाको निर्वाचन क्षेत्र नं १, २ र ३ मा ती मत बदर भएको हो। जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले मतदाता शिक्षा सञ्चालन भए पनि मतपत्रमा दुई वटा सङ्केत गरेको र ल्याप्चेसमेत हानेको पाइएको बताए। उनले त्यसबाहेक चिह्नमाथि छाप लगाएको, मत माग्न आएका सबैको चिह्नमा छाप लगाएको र समानुपातिकतर्फ सबैमा छाप लगाएको पाइएको उल्लेख गरे।

शाहीका अनुसार बाँकेको निर्वाचन क्षेत्र नं १ मा कूल खसेको ७४ हजार ९९२ मध्ये चार हजार ८५, निर्वाचन क्षेत्र नं २ मा कूल खसेको ७२ हजार सात मध्ये पाँच हजार ३०६ र निर्वाचन क्षेत्र नं ३ मा कूल खसेको ७४ हजार ३१० मध्ये चार हजार ५१ मत बदर भएको छ। यसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा बदर मत रहेको छ भने सबैभन्दा कम निर्वाचन क्षेत्र नं ३ मा बदर मत रहेको छ।

जिल्लामा तीन लाख ५० हजार ३७१ मतदाता भएकामा दुई लाख २१ हजार ३०९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ। बाँकेमा २०७९ सालको प्रतिनिधिसभा सदस्य २०७९ को निर्वाचनमा १५ हजार ३३५ मत बदर भएको थियो। यसैबीच बाँकेको निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, घण्टी चुनाव चिह्नले सबैभन्दा बढी ३४ हजार ३८२ मत ल्याएको छ। समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं १ मा नोपली कांग्रेस रुखले १४ हजार २२४ मत ल्याएर दोस्रो र नेकपा (एमाले) सूर्य चुनाव चिह्नले १० हजार ३२० मत ल्याएर तेस्रो स्थान हासिल गरेको छ। नेपाल कम्युनिष्ट पार्टीले पाँच हजार ८४३ र राष्टिय प्रजात्न्त्र पार्टीले समानुपातिकतर्फ चार हजार २८४ मत ल्याएको छ।