बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार, आयोगमा विवरण पेस


काठमाडौं- प्रतिनिधि सभाका निर्वाचित सदस्य एवं प्रधानमन्त्रीका प्रबल आकांक्षी बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेस गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार उनले निर्वाचन अभियानका क्रममा भएको खर्चको विस्तृत विवरण पेश गरेका हुन्।

उक्त विवरण अनुसार शाहले विभिन्न शीर्षकमा गरी कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। खर्च विवरण झापा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका शाहका तर्फबाट निर्वाचन प्रतिनिधि नविन भण्डारीले २०८२ फागुन २५ गते जिल्ला निर्वाचन कार्यालयमा दर्ता गरेका हुन्।

पेश गरिएको विवरण अनुसार २ वटा सवारी साधन १५ दिन सञ्चालन गर्दा इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। यस्तै हवाई यात्रामा ५ पटक गरी ३५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ। त्यसैगरी ५८ जना सहभागी मतदाता प्रशिक्षण कार्यक्रममा खाजा खर्च २८ हजार ९ सय ७० रुपैयाँ भएको उल्लेख गरिएको छ। १५ दिनसम्म सञ्चालन गरिएको घरदैलो तथा बडा स्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

प्रचारप्रसारसँग सम्बन्धित शीर्षकमा पनि उल्लेख्य खर्च भएको देखिएको छ। नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, प्रचार सामग्री (झन्डा र ब्याच) छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यस्तै, झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि २ महिनामा पानी तथा अन्य खर्च १ लाख २० हजार रुपैयाँ र स्टेशनरी खर्च २२ हजार ८२० रुपैयाँ भएको जनाइएको छ। यसैगरी मनोयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको पनि विवरणमा समावेश गरिएको छ। निर्वाचन आयोगको व्यवस्था अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो अभियानमा भएको सम्पूर्ण खर्चको विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको छ।