काठमाडौं – नेपालको आर्थिक नीति सञ्चालनमा सबैभन्दा महत्वपूर्ण मानिने दुई पद हुन् अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नर। यी दुईबीच तालमेल राम्रो भए अर्थतन्त्रको व्यवस्थापन सहज हुन्छ। तर, सम्बन्ध बिग्रिए त्यसको असर सिधै अर्थतन्त्रमा पर्न सक्छ। अहिले सम्भावित अर्थमन्त्रीका रूपमा चर्चा भइरहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल बीचको सम्बन्ध फेरि चर्चामा आएको छ।
यसअघि पनि अर्थमन्त्री र गभर्नरबीचको विवादले नेपालको आर्थिक व्यवस्था प्रभावित भएको उदाहरण छ। २०७९ साउन १५ मा जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएपछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीसँग उनको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो। विवाद यति बढ्यो कि गभर्नर अधिकारीलाई पदमुक्त गर्ने प्रयाससमेत भयो। पछि भने सर्वोच्च अदालतले उनलाई पुनः पदमा फर्काउने आदेश दिएको थियो। अर्थशास्त्रीहरूका अनुसार त्यसबेला अर्थमन्त्री र गभर्नरबीचको खटपटले आर्थिक नीतिमा अन्योल सिर्जना गरेको थियो।
यसअघि पनि अर्थमन्त्री र गभर्नरबीचको विवादले नेपालको आर्थिक व्यवस्था प्रभावित भएको उदाहरण छ।
त्यो समय विश्व अर्थतन्त्र कोभिड–१९ पछि पुनः स्थापनाको चरणमा थियो भने रुस युक्रेन युद्धले आपूर्ति शृङ्खलामा ठुलो प्रभाव पारिरहेको थियो। अहिले फेरि मध्यपूर्वमा अमेरिका र इजरायलसँग इरानको बढ्दो तनावका कारण पेट्रोलियमको मूल्य बढ्ने जोखिम देखिँदा नेपालको अर्थतन्त्र पनि संवेदनशील अवस्थामा पुगेको छ।
यही पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद रहेका वाग्ले अर्थमन्त्री बन्ने चर्चा चुलिएको छ। पार्टी सभापति रवि लामिछानेले निर्वाचनअघि नै वाग्लेलाई आगामी बजेटको तयारी गर्न निर्देशन दिएका थिए। पार्टीभित्र सहमति कायम भए वाग्ले अर्थमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ। यदि वाग्ले अर्थमन्त्री बने भने गभर्नर पौडेलसँगको सम्बन्ध कस्तो होला? सार्वजनिक वृत्तमा चासो बढ्न थोलेको छ।
राजनीति र सार्वजनिक जीवनमा प्रवेश गर्नु अघि वाग्ले र पौडेलबीच घनिष्ठ सम्बन्ध थियो। वाग्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा उनले पौडेललाई सल्लाहकारका रूपमा ल्याएका थिए। साथै नेपाली काङ्ग्रेसभित्र पौडेलको पहुँच विस्तार गर्न पनि वाग्लेले भूमिका खेलेको चर्चा हुने गर्छ। तर समयसँगै राजनीतिक अवसरका कारण उनीहरूबिच प्रतिस्पर्धा बढ्यो। २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी तय गर्ने क्रममा पौडेलले टिकट पाउँदा वाग्ले पछि परे। त्यसपछि वाग्ले काँग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरे र सोही पार्टीबाट चुनाव जिते। उता पौडेल भने निर्वाचनमा पराजित भए।
पार्टीभित्र सहमति कायम भए वाग्ले अर्थमन्त्री बन्ने सम्भावना बलियो देखिन्छ। यदि वाग्ले अर्थमन्त्री बने भने गभर्नर पौडेलसँगको सम्बन्ध कस्तो होला? सार्वजनिक वृत्तमा चासो बढ्न थोलेको छ।
त्यसपछि पौडेल नेपाली काँग्रेसकै जोड बलमा गभर्नर नियुक्त भए। राजनीतिक उतार–चढाव, आन्दोलन र नयाँ राजनीतिक समीकरणले दुवैलाई फरक–फरक भूमिकामा पुर्यायाे। राजनीतिक उतार चढावबिच दुवैबीचको सम्बन्ध झन् जटिल बन्यो। विशेष गरी जेनजी आन्दोलनका क्रममा पौडेलको निजी घरमा आगजनी गरिएको घटना निकै चर्चित बनेको थियो। त्यही आन्दोलनको प्रभावले राजनीतिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः जनमत र शक्ति आर्जन गरेको देखिन्छ।
त्यसपछि सोही पार्टीबाट निर्वाचित वाग्ले अहिले अर्थमन्त्रीको प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यस्तो अवस्थामा गभर्नर पौडेल र सम्भावित अर्थमन्त्री वाग्लेबीच सम्बन्ध सुधार हुन्छ कि पुरानै खटपट कायम रहन्छ भन्ने चासो राजनीतिक र आर्थिक वृत्तमा बढेको छ।
फेसबुकबाट घोचपेच गर्थे गभर्नर पौडेल
विगतमा गभर्नर पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत वाग्ले तथा रास्वपालाई लक्षित गर्दै टिप्पणी गर्ने गरेका थिए। एक प्रसङ्गमा रवि लामिछानेमाथि संसदीय छानबिन समितिले प्रतिवेदन तयार पारेको विषयमा बहस चलिरहेका बेला पौडेलले फेसबुकमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। त्यतिबेला प्रतिवेदनले उन्मुक्ति दिएको हो कि कारबाहीको सिफारिस गरेको भन्ने विषयमा व्यापक बहस भइरहेको थियो।
पौडेलले त्यस सन्दर्भमा लेखेका थिए, ‘बोर्डिङ र विदेश मात्र पढेका साथीहरूको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो, तर रिपोर्ट पढ्दा ‘कारबाही सिफारिस’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहिँ थिएन।’
प्रतिवेदनपछिका घटनाक्रमका आधारमा लामिछानेमाथि मुद्दा दायर भएको थियो। पौडेलका टिप्पणी त्यतिमै सीमित रहेनन्। उनले अर्को स्ट्याटसमा नाम नलिई वाग्लेलाई लक्षित गर्दै ‘हाउडे’ शब्द प्रयोग गरेका थिए। उनले लेखेका थिए, ‘पहिला पहिला हार्वर्ड विश्वविद्यालय पढेर वा तालिम लिएर आउनेलाई हार्वर्डे भनिन्थ्यो। त्यो शब्द बिग्रँदै हावर्डे, हावडे हुँदै ‘हाउडे’ भयो।
पौडेलले त्यस सन्दर्भमा लेखेका थिए, ‘बोर्डिङ र विदेश मात्र पढेका साथीहरूको नेपाली लेखपढ कमजोर छ भन्ने त थाहा थियो, तर रिपोर्ट पढ्दा ‘कारबाही सिफारिस’ भनेर लेखेकोलाई ‘उन्मुक्ति दिएको’ भनेर बुझ्लान् भन्ने चाहिँ थिएन।’
पञ्चायतकालतिर यस्ता व्यक्तिहरू मुलुक नबुझीकन ठूला गफ गर्ने गर्थे। पछि ‘बेस’ नभएका, मुलुक नबुझेका, चर्का गफ गर्ने विदेशी तथा स्वदेशी डिग्रीधारीलाई हाउडे भन्न थालियो ।’त्यसैगरी रास्वपा प्रतिपक्षमा रहेका बेला वाग्लेले बजेटलाई ‘परम्परागत’ भनेको टिप्पणीप्रति पनि पौडेलले व्यंग्य गरेका थिए।
पौडेलले फेसबुकमा लेखेका थिए,
‘अघिल्लो वर्ष सरकारमा बसेका साथीहरूले बजेट वा नीति तथा कार्यक्रमलाई आलोचना गर्दा ‘परम्परागत’ (अर्थात् पहिले आफूले ल्याएको जस्तै) भनेको नराम्रो भनेको हो कि प्रशंसा गरेको हो, बुझ्न सकिएन।’ यस्ता टिप्पणीहरूका कारण वाग्ले र पौडेलबीच व्यक्तिगत तथा वैचारिक दूरी रहेको चर्चा हुने गरेको छ। अब वाग्ले अर्थमन्त्री बनेको अवस्थामा अर्थ मन्त्रालय र केन्द्रीय बैंकबीच आवश्यक समन्वय कायम हुन्छ कि विगतको घोचपेचले सम्बन्धमा असर पार्छ भन्ने विषय आगामी दिनमा स्पष्ट हुने देखिन्छ।



About Us
प्रतिक्रिया