काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र राष्ट्र बैंकबाट अवकाशमा गएका छन् । डेपुटी गभर्नरकारुपमा ५ वर्षे कार्यकाल पूरा गरेर मिश्र नेपाल राष्ट्र बैंकबाट सेवानिवृत्त बनेका हुन्।
बाल्यकालमा मिश्रले आफूलाई डाक्टरकारुपमा सपना देख्नेगर्थे । डाक्टर बनेर बिरामी र रोगीको उपचार गर्ने लक्ष्य बोकेका उनी यतिबेला डेपुटी गभर्नर बनेर देशको अर्थतन्त्रको औषधी उपचार गरेर यतिबेला भने अवकाशमा गएका छन् । ‘४ जना दाइ र ४ जना दिदीबहिनीसँग हुर्केका मिश्र सानैदेखि पढाइमा चासो राख्ने गर्थे । सानैदेखि पढाइमा अब्बल थिए,’ केही समयअघि बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनले भनेका थिए ।
सोही क्रममा उनी एसएलसीमा विद्यालय टप समेत बन्न पुगे । एसएलसीपछि मिश्रले आईएससी गरे । त्यतिबेला पनि उनले कलेज टप गरे । उनलाई डाक्टर बन्ने इच्छा जागेकाले शिक्षा मन्त्रालयको कोलम्बो प्लानमा छात्र वृत्तिका लागि आवेदन दिएपनि उनीसँगै आवेदन दिनेमध्ये कसैको पनि नाम आएन । नाम ननिस्किए पनि डाक्टर बन्ने योजनाबाट पछि हटेनन् । त्यसपछि बीएससी गर्न त्रिचन्द्र भर्ना भए पनि बीएससी गरेर केही हुँदैन भन्ने लागेपछि फिजिक्स पढ्ने लक्ष्यसहित अमृत साइन्स क्याम्पस भर्ना भए ।
यद्यपि, अस्कल पढ्दासम्म आफ्नो डाक्टर बन्ने सपनाबाट पछि हटिसकेका थिए । पढ्दै गर्दा मिश्रले केही समय पत्रिका बाँड्ने काम पनि गरे । त्यसको केही समय पछि उनले एक विद्यालयमा काम पाए । बिहान आफू पढ्ने दिउँसो अरूलाई पढाउने गर्न थाले । मिश्रले काम गर्दै पढ्दासमेत बीएससीमा पनि कलेज टप गरे ।

यसरी सुरु भयो बैंकिङ्ग करिअर
उनले पढाउँदै गर्दा तत्कालिन नेपाल अरब बैंक अहिलेको नबिल बैंकमा कर्मचारी माग भएको जानकारी पाए । उनले आवेदन दिए र नाम निस्कियो । तत्कालिन समयमा उनले ‘जुनियर्स असिस्टेन्ट’बाट जागीरको सुरुवात गरेका थिए । बैंकमा जागिर सुरु गरेपछि उनलाई एमबीए गर्ने इच्छा जाग्यो र एमबीए पनि गरे । उनले एमबीए गर्दा पनि कलेज टप नै गरे । मिश्रले ५ हजार रुपैयाँ पारिश्रमिकबाट आफ्नो बैंकिङ्ग करिअर सुरु गरेका थिए ।
उनले एमबीए गर्दा विराटनगरमा एनआई बैंक हालको एनआईसी एशिया बैंक खुल्यो । सो बैंकले उनलाई ‘जुनियर अफिसर’ पद दिने भनि अफर गर्यो । त्यसपछि एनआईसी एशिया प्रवेश गरे । सो बैंकले उनलाई जुनियर अफिसर पद दिने भनि अफर गर्यो । उनी एनआईसी एशिया प्रवेश गरे । उनले त्यहाँ काम गर्दै गर्दा नेपाल राष्ट्र बैंकमा पनि जागिर खुलेको थियो । उनले आवेदन दिए । लिखित परिक्षामा नाम निस्केपछि उनले अन्तर्वार्ता दिए ।
अन्तरवार्तामा पास भएसँगै मिश्रले राष्ट्र बैंकमा सहायक निर्देशक पदबाट प्रवेश गरे । केन्द्रीय बैंकको विरगंज कार्यालय, वित्तीय संस्था सुपरीवेक्षण, विदेशी विनिमय विभाग जस्ता विभागमा रहेर काम गरिसकेका छन् । उनले भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक, विदेशी विनियम विभागको प्रमुख समेत बनेर काम गरिसकेका छन् ।

रेगुलेशन विभागमा बसेर छरिएर विभिन्न निर्देशनलाई एकीकृत गरेर जारी गर्ने व्यवस्था गरिएको थियो । पेमेन्ट सिस्टम (आरटीजीएस प्रणाली)को सुरुवातकर्ताकारुपमा काम गरेका थिए । यस्तै, विदेशी विनियम व्यवस्थापन विभागमा रहेर विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने गरी स्वचालित प्रणाली विकास गर्न काम गरेका थिए । बैंक सुपरिवेक्षण विभागमा रहेर काम गर्दै सुपरिवेक्षण विनियमावलीलाई व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
मिश्रले डेपुटी गभर्नर बनेपछि बैंकिङ्ग क्षेत्रको स्थायित्वका लागि भूमिका खेल्दै आएका छन् । मिश्र उदारवादी सोच र प्रवृत्तिका छन् । १० वर्ष जति वाणिज्य बैंकमा काम गरेको अनुभवका आधारमा बैंक तथा वित्तीय संस्था र औद्योगिक व्यवसायीक क्षेत्रमा गहन जानकारी समेत उनमा छ। वाणिज्य बैंक हुँदै बैंकको नियामक निकायको उच्च पदबाट मिश्र आइतबार अवकाशमा गएका हुन् । – आर्काइभबाट



About Us
प्रतिक्रिया