धरानदेखि यूएईसम्मः सजिलो बाटो छोडेर चुनौतीको बाटो रोजेकी पहिलो नेपाली महिला ‘एचआर लिडर’ रश्मि बास्तोला 


काठमाडौं – धेरैजसो मानिस जीवनलाई सहज बाटोबाट अघि बढाउन चाहन्छन्। तर केही व्यक्तिहरू हुन्छन्, जसले सुरक्षित र सहज जीवन छोडेर नयाँ चुनौती रोज्छन्। रश्मी बास्तोलाको जीवनयात्रा पनि यस्तै साहस, आत्मविश्वास र निरन्तर खोजको कथा हो।

धरानमा जन्मिएकी रश्मी बाल्यकालदेखि नै अलि फरक स्वभावकी थिइन्। समाजमा छोरीहरूको जीवनबारे तय गरिएका परम्परागत अपेक्षाभन्दा बाहिर गएर आफ्नो बाटो आफैँ बनाउने चाहना उनको मनमा सानैदेखि थियो। धेरैजसो महिलाहरू उच्च शिक्षा सकेपछि विवाह गरेर विदेश बस्ने प्रचलन थियो र यस्तै अपेक्षा गरिन्थ्यो। तर, रश्मीले भने त्यो बाटो रोजिनन्।

१७ वर्षको उमेरमै उनी काठमाडौं आइन्। काठमाडौं छिरेपछि रातको समयमा अमेरिकामा अवस्थित एउटा कल सेन्टरमा काम गर्ने र दिनमा कलेज पढ्ने उनको दिनचर्या थियो। आर्थिक आवश्यकता भन्दा पनि जीवनलाई फरक तरिकाले अनुभव गर्ने चाहनाले उनले यस्तो बाटो रोजेकी थिइन्।

उनका अनुसार जीवनमा दुई प्रकारका संघर्ष हुन्छन्। ‘जब मानिससँग केही हुँदैन, उसले संसारसँग लड्नुपर्छ। तर, जब पर्याप्त हुन्छ, उसले आफ्नै मनसँग लड्नुपर्छ,’ उनी भन्छिन्, ‘दोस्रो संघर्ष प्रायः झन् कठिन हुन्छ।’ रश्मीले त्यही दोस्रो संघर्ष रोजिन् र आफ्नो क्षमता र सीमाभन्दा बाहिर जाने संघर्ष चुनिन्।

अनि यूएईतर्फ मोडियो रश्मिको पाइला

नेपाल र भारतमा केही समय काम गरेपछि उनले दिल्लीस्थित इन्डियन स्कुल अफ बिजनेस म्यानेजमेन्टबाट मानव संसाधन व्यवस्थापनमा एमबीए पूरा गरिन्। सन् २०१२ मा उनी अन्तर्राष्ट्रिय अनुभव र नयाँ अवसरको खोजीमा संयुक्त अरब इमिरेट्स (यूएई) गइन्। विदेश पुगेपछि भने उनको यात्रा सहज थिएन, बरु झनै कठिन र संघर्षमय थियो।

नेपालमा पर्याप्त अनुभव भए पनि विदेशी भूमिमा उनले फेरि सुरुवात गर्नुपर्‍यो। उनले प्रवेश स्तरको एचआर पदबाट आफ्नो करिअर सुरु गरिन्। यही अनुभवले उनलाई फेरि प्रयास गर्नु कमजोरी होइन भन्ने एउटा महत्त्वपूर्ण पाठ सिकायो। काम सुरु गरेको पहिलो ६ महिनामा उनले अधिकांश समय कम्पनीको वेयरहाउसमा बिताइन् । कामको प्रक्रिया बुझ्न, कामदारहरूको अवस्था अध्ययन गर्न र सम्भावित जोखिम पहिचान गर्न उनले प्रत्यक्ष रूपमा काम गर्ने वातावरण नियालिन्।

रश्मीले त्यही दोस्रो संघर्ष रोजिन् र आफ्नो क्षमता र सीमाभन्दा बाहिर जाने संघर्ष चुनिन्।

युएईका औद्योगिक क्षेत्रमा काम गर्नु सजिलो छैन। किनकि, ४५ डिग्रीसम्मको तापक्रम, बाहिरी वातावरण र अधिकांश अशिक्षित श्रमिकहरू मुख्य चुनौती हुन्। त्यहाँ उनी प्रायः साइटमा एक मात्र महिला हुन्थिन् भने भाषाको समस्या पनि उत्तिकै थियो। तर, श्रमिकहरूले उनलाई अत्यन्त सम्मान र विश्वास दिएका थिए।

पहिलो नेपाली महिला ‘एचआर’देखि विश्वस्तरीय सम्मानसम्म

‘उनीहरूले बुझ्थे कि म उनीहरूको कुरा सुन्न र कामको अवस्था सुधार्न आएको हुँ,’ उनी थप्छिन्, ‘त्यही अनुभवले मलाई नेतृत्वको वास्तविक अर्थ सिकायो ।’ केही वर्षपछि उनको करिअरले नयाँ उचाइ लिन थाल्यो र सन् २०१६ मा उनी एक स्वास्थ्य सेवा समूहमा सिनियर एचआर म्यानेजर नियुक्त भइन् । आठ वर्षको अवधिमा उनले संस्थाको विस्तारसँगै महत्त्वपूर्ण भूमिका निभाइन् र तीन वटा क्लिनिकबाट सुरु भएको संस्थाले १३ क्लिनिकसम्म विस्तार गर्यो ।

यस अवधिमा उनले ३०० भन्दा बढी कर्मचारी भर्ना गरिन् भने मानव संसाधन नीति निर्माण, कार्यसम्पादन व्यवस्थापन प्रणाली लागू गर्नुका साथै सरकारी सम्बन्ध व्यवस्थापनको जिम्मेवारी पनि सम्हालिन्। उनको व्यावसायिक यात्रा केवल कार्यालयभित्र सीमित रहेन। उनले अन्तर्राष्ट्रिय एचआर समुदायसँग सक्रिय नेटवर्क निर्माण गरेपछि सन् २०२१ मा उनलाई वल्र्ड मेडिकल काउन्सिल (जीसीसी च्याप्टर) ले ‘राइजिङ स्टार इन एचआर’ अवार्ड प्रदान ग¥यो, जसले उनलाई उक्त सम्मान पाउने पहिलो नेपाली बनायो।

त्यस्तै, सन् २०२४ मा उनलाई विश्वव्यापी एचआर संस्था एसएचआरएमले अमेरिकाको फ्लोरिडामा हुने वार्षिक एचआर सम्मेलनमा सहभागी हुन निमन्त्रणा पनि गर्याे। आज रश्मी यूएईको प्रमुख स्वास्थ्य सेवा प्रदायकमध्ये एक एनएमसी हेल्थमा सिनियर एचआर बिजनेस पार्टनरको रूपमा कार्यरत छन्। ४५ भन्दा बढी अस्पताल र क्लिनिक रहेको यो संस्थामा उनले नेतृत्वदायी भूमिका निभाइरहेकी छन्।

‘म जहाँ भए पनि फरक पार्ने प्रयास गरिरहनेछु। एक नेपालीका रूपमा र आफ्नो सहज सीमाभन्दा बाहिर हिँड्ने साहस गर्ने एक महिलाका रूपमा,’ उनी भन्छिन्।

युएईमा महिला नेतृत्वका रूपमा काम गर्ने अनुभव उनको लागि सशक्त बनाउने अवसर भएको उनी बताउँछिन्। विविधतायुक्त र व्यावसायिक कार्य संस्कृतिले उनलाई सधैँ समान व्यवहार दिएको उनले अनुभव गरेकी छन्। उनका अनुसार कार्यक्षेत्रमा महिलालाई ‘विशेष’ हैन, ‘समान’ रूपमा हेरिनुपर्छ । नेतृत्वमा सबैभन्दा महत्त्वपूर्ण कुरा क्षमता, योगदान र संस्थामा ल्याउने मूल्य हा, लिङ्ग होइन।

अधिकांश संस्थामा उनी नेतृत्व तहमा पुगेकी एक मात्र नेपाली रहँदै आएकी छन् । यो उपलब्धि जस्तो लागे पनि उनी यसलाई जिम्मेवारीको रूपमा लिन्छिन् । ‘यदि मेरो यात्राले अन्य नेपाली पेशेवरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढ्न प्रेरणा दिन्छ भने त्यो नै मेरो लागि सबैभन्दा ठुलो उपलब्धि हुनेछ,’ उनी भन्छिन् ।

व्यवसायदेखि कर्पोरेट क्षेत्र हाँक्न अब्बल हुन्छन् महिला

विश्वभरका महिलालाई उनको सन्देश स्पष्ट छ, ‘आफ्नो सम्भावनाभन्दा कममा सन्तुष्ट हुने बानीलाई सामान्य मान्नु हुँदैन ।’ चाहे घरमै व्यवसाय चलाउने होस, कर्पोरेट क्षेत्रमा नेतृत्व गर्ने होस् वा सार्वजनिक सेवामा योगदान दिने हरेक महिलासँग समाजलाई दिन सक्ने असाधारण क्षमता हुन्छ,’ उनी भन्छिन् । 

उनका अनुसार महिलामा माया, धैर्यता र साहसको अद्भुत शक्ति हुन्छ । परिवार र समाजका लागि निरन्तर योगदान दिँदा पनि उनीहरूको शक्ति कहिल्यै सकिँदैन । भविष्यका योजनाबारे भने उनी उदार मन राख्छिन् । यूएईले उनलाई ठुलो अवसर दिएकोमा उनी कृतज्ञ छिन् । यूएईमा नै आफ्नो भविष्य चम्काइरहेकी उनी भविष्यमा नेपाल फर्किन परे सहर्ष स्विकार्दै फर्कने बताउँछिन्।

‘म जहाँ भए पनि फरक पार्ने प्रयास गरिरहनेछु। एक नेपालीका रूपमा र आफ्नो सहज सीमाभन्दा बाहिर हिँड्ने साहस गर्ने एक महिलाका रूपमा,’ उनी भन्छिन्।