गोरखा–१ को मतपेटिका बोकेको हेली पोखरामा आकस्मिक अवतरण


गोरखा – गोरखाको हिमाली भेगको मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण गरेको छ । खराब मौसमका कारण गोरखा सदरमुकाममा हेली अवतरण गर्न नसकेपछि पोखरा लगेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

आज दिउँसोदेखि हिमाली भेगका २३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न सुरु गरिएको थियो । ‘हेलीले पहिलो लटमा चुमनुब्री गाउँपालिकाको वडा नं ७ स्थित छेकम मतदान केन्द्र र वडा नं ६ को चुम्चेत मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याइसकेको छ’, उनले भने, ‘दोस्रो लटमा चुमनुब्री–१ स्थित गौरीशङ्कर आधारभूत विद्यालय खाङसार र साम्दो आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिका ल्याउने क्रममा मौसमले साथ दिएन ।’

खराब मौसमका कारण उत्तरी गोरखाको मतपेटिका सङ्कलन प्रभावित बनेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।

जिल्लाको तल्लो भेगका मतपेटिका भने गए राति नै ढुवानी भइसकेको छ । गोरखा क्षेत्र नं २ को मतगणनासमेत सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । गोरखा–१ को मतगणना जिल्ला सदरमुकामस्थित जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को भूतथा जलाधार व्यवस्थापन कार्यालयमा गणना हुने गौतमको भनाइ छ ।