नेपाली प्रविधिमा नयाँ फड्को: ‘टिङटिङ’ ले ल्यायो पहिलो एआई-नेटिभ कल सेन्टर सोलुसन, विश्व बजार ताक्दै


काठमाडौं – नेपालको प्रविधि क्षेत्रमा नयाँ मानक स्थापित गर्दै अग्रणी एआई कम्पनी ‘टिङटिङ’ ले संस्थागत सञ्चारलाई आधुनिक बनाउने उद्देश्यका साथ नेपालकै पहिलो एआई-नेटिभ (AI-native) कल सेन्टर सोलुसन ‘टिङटिङ कनेक्ट’ सार्वजनिक गरेको छ। दशकौँदेखि महँगो लाइसेन्स शुल्क र सीमित सिट क्षमतामा बाँधिएको परम्परागत कल सेन्टर उद्योगलाई विस्थापित गर्ने लक्ष्य राख्दै कम्पनीले यो अत्याधुनिक सेवा ‘जिरो कस्ट’ अर्थात् शून्य लागतमा उपलब्ध गराउने घोषणा गरेको छ। यो पहललाई नेपालको कर्पोरेट क्षेत्रमा डिजिटल रूपान्तरणको एउटा ऐतिहासिक खुड्किलोको रूपमा हेरिएको छ।

पुराना प्रणालीहरूमा एआईका केही सुविधाहरू मात्र थप गर्ने (Plug-in) चलन भइरहेका बेला टिङटिङले एआईलाई नै मेरुदण्ड (Infrastructure) बनाएर यो प्रणाली विकास गरेको हो। यस प्रणालीले हरेक संवादलाई स्वचालित रूपमा रेकर्ड गर्ने, वास्तविक समयमा ट्रान्सक्राइब गर्ने र तत्कालै ग्राहकको भावना (Sentiment) विश्लेषण गर्ने अद्भुत क्षमता राख्छ। परम्परागत प्रणालीमा केवल २ प्रतिशत कलहरूको मात्र म्यानुअल गुणस्तर जाँच हुने गरेकोमा ‘टिङटिङ कनेक्ट’ ले शतप्रतिशत कुराकानीको विश्लेषण गरी कार्यसम्पादनमा पूर्ण स्पष्टता प्रदान गर्ने दाबी कम्पनीले गरेको छ।

यस प्रविधिको अर्को मुख्य आकर्षण ‘द बक्स’ नामक विशेष हार्डवेयर युनिट हो। यो हार्डवेयरको प्रयोगले कम्पनीका सम्पूर्ण संवाद र डाटाहरू आफ्नै नेटवर्कभित्र सुरक्षित रहनेछन्, जसले बैंक तथा सरकारी निकायहरूका लागि ‘सभरेन एआई’ (Sovereign AI) को सुनिश्चितता प्रदान गर्दछ। परम्परागत प्लेटफर्महरूले प्रति कर्मचारी शुल्क लिने अभ्यासलाई तोड्दै टिङटिङ कनेक्टले ‘अनलिमिटेड एक्सटेन्सन’ को सुविधा ल्याएको छ, जसले गर्दा व्यवसायहरूले अब लाइसेन्सको महँगो शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ। साथै, कम्पनीको आफ्नै ‘रिरी’ (Riri) इन्जिनमार्फत भ्वाइस, टेक्स्ट र एआई एजेन्टहरूलाई एउटै प्रणालीमा एकीकृत गरिएको छ।

टिङटिङको यो यात्रा नेपालमा मात्र सीमित नभई विश्वव्यापी बन्ने दिशामा अघि बढेको छ। कम्पनी सीबिओ (CBO) सोजन प्रजापतिका अनुसार कम्पनी अब इन्टरप्राइज कम्युनिकेसनको क्षेत्रमा विश्वव्यापी एआई-नेटिभ बन्ने दौडमा सामेल भएको छ। गत फेब्रुअरीमा कतारमा सम्पन्न ‘वेब समिट कतार’ मा नेपालको प्रतिनिधित्व गर्ने एक मात्र कम्पनी हुनुले पनि यसको विश्वस्तरीय गुणस्तरलाई पुष्टि गरिसकेको छ।

नेपाल राष्ट्र बैंकले नेपाली आइटी कम्पनीहरूलाई विदेशमा शाखा खोल्न अनुमति दिएसँगै टिङटिङ जस्ता कम्पनीहरूका लागि विश्वबजारमा प्रतिस्पर्धा गर्ने र आईटी निर्यात बढाउने सुनौलो अवसर जुरेको छ। स्थापनाको एक वर्षभन्दा कम समयमै निकै चर्चित बनेको यस कम्पनीले हाल वर्ल्डलिङ्क, ई-सेवा, सिटिजन्स बैंक र सूर्यज्योति इन्स्योरेन्स जस्ता ठूला कर्पोरेट हाउसहरूलाई सेवा प्रदान गरिरहेको छ।हाल ‘इन्ट्रोडक्टरी अफर’ अन्तर्गत सीमित अवधिका लागि नि:शुल्क उपलब्ध गराइएको यो सेवा भविष्यमा सशुल्क मोडेलमा जानेछ। यो सेवा प्रयोग गर्न इच्छुक संस्थाहरूले अहिले ‘tingting. io’ मार्फत वेटलिस्टमा आवेदन दिन सक्नेछन्।