वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात


वीरगञ्ज – वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए। ‘चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,’उनले भने। गत आवको सात महिनामा चार खर्ब ६० अर्ब २३ करोड रूपैयाँ मूल्य बराबरका सामान आयात भएको थियो।

चालु आवको सात महिनामा एक खर्ब छ अर्ब ४३ करोड रुपैयाँ मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ। त्यसैगरी, ४६ अर्ब १६ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ। सोही अवधिमा ३५ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ। ३५ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ। २७ अर्ब ९८ करोड रुपैयाँ मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।