६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप उठाउँदै राष्ट्र बैंक


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले एक सय अर्ब तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज (फागुन १९) गते ६ दिन अवधिको एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ।

यो ६ दिने निक्षेप संकलन उपकरणको यही फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन्। कात्तिक लागेसँगै केन्द्रीय बैंकले पाँचौँ पटक तरलता खिच्न लागेको हो। यसअगाडि फागुन ५ गते ४० अर्ब रुपैयाँ, १० गते ३० अर्ब रुपैयाँ, १३ गते ४० अर्ब रुपैयाँ, १७ गते १ खर्ब १० अर्ब रुपैयाँ तानेको थियो।