सबै मतदातालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरिक हुन प्रधानमन्त्रीको आह्वान


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले भनेकी छिन् ‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो ।’

यही फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दै भनेकी छिन् , `निर्वाचनको सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु, शान्ति नै नेपालको असली पहिचान हो ।´

प्रधानमन्त्री कार्कीले एउटा विशेष घडीमा आफूले मनका केही कुरा राख्न चाहेको उल्लेख गर्दै देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको र यही फागुन २१ गतेका दिन आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी छिन् ।

‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ, आउनुहोस्, होलीको खुसी साटौँ, फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ ।’