प्रतिनिधि सभा सदस्य निर्वाचन आचारसंहिता आज राति १२ बजेपछि लागू हुने


काठमाडौं — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुने भएको छ। निर्वाचन आयोगले सूचना जारी गर्दै प्रचारप्रसार लगायतका गतिविधिमा पूर्ण रोक लगाइने जनाएको छ।

आयोगका अनुसार राति १२ बजेपछि कुनै पनि प्रकारका निर्वाचन प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइने छैन। त्यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यममार्फत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न समेत निषेध गरिएको छ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदाता, मतदान केन्द्र वा मतदानमा संलग्न कर्मचारीलाई अवरोध पुर्‍याउने कुनै पनि गतिविधि गर्न नहुने आयोगले स्पष्ट पारेको छ।

यस अवधिमा बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर गर्ने, जुलुस निकाल्ने, सभा–समारोह आयोजना गर्ने तथा हुलहुज्जत वा होहल्ला गर्ने कार्यसमेत प्रतिबन्धित रहनेछ। मत माग्ने उद्देश्यले साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यम प्रयोग गर्न पाइने छैन।

राजनीतिक दल, उम्मेदवार तथा उनीहरूका भातृ सङ्गठनहरूले सामाजिक सञ्जालमार्फत प्रकाशित गरेका निर्वाचनसम्बन्धी विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, मतदान हुने दिनभन्दा ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्नेछ।

मतदान केन्द्र र वरिपरिको क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न विशेष सतर्कता अपनाइने जनाइएको छ। मतदानलाई असर पार्ने गरी भय, त्रास सिर्जना गर्ने वा वातावरण बिथोल्ने कुनै पनि गतिविधि गर्न नहुने आयोगले चेतावनी दिएको छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आचारसंहिता पालना गरी लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सहयोग गर्न आग्रह गरेको छ।