काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य आमनिर्वाचन–२०८२ लाई मध्यनजर गर्दै सार्वजनिक बिदाको अवधिमा पनि बैंक तथा वित्तीय संस्थाले आवश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। निर्वाचन आयोग नेपालको पत्रअनुसार इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई वित्तीय सेवा सुचारु राख्न आग्रह गरिएको केन्द्रीय बैंकले जनाएको छ।
सरकारले निर्वाचनलाई मध्यनजर गर्दै २०, २१ र २२ गते सार्वजनिक विदा घोषणा गरेको छ। त्यस्तै, फागुन १८ गते हिमाली र पहाडी जिल्लाका ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २९ जिल्लामा होली पर्व (फागु पूर्णिमा) का कारण सार्वजनिक विदा रहने भएकाले सो अवधिमा समेत आवश्यक बैंकिङ्ग सेवा प्रवाह गर्न व्यवस्था मिलाउन भनिएको छ।
सूचनाअनुसार सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिलासम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। साथै, निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानीलगायतका बैंकिङ्ग सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
निर्वाचनलाई प्रभावकारी र व्यवस्थित बनाउन सार्वजनिक विदाका दिनमा समेत अत्यावश्यक बैंकिङ्ग सेवा सुचारु राख्न आग्रह गरेका केन्द्रीय बैंकले जनाएकाे छ।



About Us
प्रतिक्रिया