सहकारी विभावको नयाँ सुझावः सहकारी संस्थाहरुले अबको साधारणसभा विद्युतीय माध्यमबाट लाइभ गर्नुपर्ने

सहकारी विभावको नयाँ सुझावः सहकारी संस्थाहरुले अबको साधारणसभा विद्युतीय माध्यमबाट लाइभ गर्नुपर्ने


बैकिङ्ग समाचार।
विश्वभर फैलिएको कोभिड–१९ को संक्रमणका कारण संस्थाहरुले भौतिक रुपमा उपस्थित भएर साधारणसभा गर्न असम्भव छ । जसका कारण सहकारीले अब साधारणसभा विद्युतीय माध्यमबाट वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थालाई साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सुझाव दिएको छ ।

विभागले सहकारी संस्थाहरुलाई साधारणसभाका लागि दिएको सुझावमा ‘साधारण सभा कार्यक्रम विद्युतीय माध्यमबाट सञ्चालन गर्न सकिनेछ । सम्भव भएसम्म साधारणसभा सञ्चालन अबधिभरिको सबै गतिविधिहरू सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाउने साथै विद्युतीय माध्यमबाट गरिने साधारणसभाको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरेको छ ।

साधारणसभा भने आर्थिक वर्ष सकिएको तीन महिनाभित्रै भौतिक रुपमा नभए पनि विद्युतीय माध्यमको प्रयोगबाट गर्नेपर्ने कानूनी व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।सहकारी संस्थाहरुले साधारणसभा विद्युतीय माध्यमबाट सञ्चालन गर्न नसकिने अवस्था भएमा सदस्य संख्या, सदस्यको फैलावट तथा कार्यक्षेत्र समेतको विचार गरी बढीमा १५ दिनसम्म वा सहकारी संस्थाको स्वीकृत बिनियममा तोकिएको समयसम्म साधारण सभा सञ्चालन अवधि कायम राखी उपस्थिति पुस्तिका खुल्ला गर्न सकिने र सदस्यहरुलाई १५ दिनभित्र हस्ताक्षर गर्नका लागि उपस्थित हुने समय र स्थानको जानकारी अग्रीम गराउनु पर्ने व्यवस्था विभागले गरेको छ ।

निर्णय पुस्तिकामा हस्ताक्षर गर्न छानिएका प्रतिनिधिहरुलाई सोही समयमा निर्णय पुस्तिकामा समेत हस्ताक्षर गराउने र नियामक निकायबाट समेत प्रमाणित गराउने आग्रह गरेको छ ।

साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्नका लागि कार्यक्रमकै दिनमा प्रतिनिधिहरु चयन गर्न पनि भनिएको छ । सहकारी संस्थाहरुले साधारणसभाका लागि तयार गरिएको प्रतिवेदन र साधारण सभामा भाग लिने माध्यम सम्बन्धित संघ संस्थाको वेवसाइटमा अपलोड गर्नु पर्नेछ ।

सम्बन्धित संघ, संस्थाको वेवसाइट नभएमा नियमनकरी निकायको स्वीकृति लिएर सार्वजनिक सूचना प्रसारण गरी प्रतिवेदन र साधारणसभा सम्बन्धी अन्य जानकारी प्राप्त गर्ने स्थान र समयको बारेमा सदस्यलाई सूचित गर्न विभागले भनेको छ ।

सञ्चालक समितिले पारित गरी साधारण सभाका लागि तयार गरिएको प्रतिवेदन साधारणसभाको कम्तीमा १५ दिन वा सम्बन्धित सहकारी संस्थाको बिनियममा तोकिएको समय अगावै सबै सेयर सदस्यले प्राप्त गरे, नगरेको टेलिफोन, इमेल, लगायत माध्याम्बाट सुनिश्चित गर्ने र सो को अभिलेख राख्न पनि विभागले राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, तथा सबै सहकारी संस्थाहरुलाई सुझाव दिएको छ ।